निजगढ,बसमा सवार एक यात्रुको शुक्रवार राति बसभित्रै मृत्यु भएको छ । गौरबाट काठमाण्डौंतर्फ जादै गरेको बाग्मती प्रदेश ०१–००६ख.५१५९ नम्बरको माँ कल्याणी डिलक्स बसमा सवार जिल्ला रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने नागेन्द्र पण्डितको श्रीमती अन्दाजी वर्ष ६० की सुमित्रा देवीको निजगढस्थित पूर्वपश्चिम राजमार्गको भमरा पुल नजिक आएपुगेपछि बसभित्रै मृत्यु भएको हो ।
पहिला देखिनै दमको बिरामी सुमित्राको उपचारको लागि छोरा शसी कुमारले काठमाण्डौ लैजाने क्रममा एक्कासी दम बढेपछि बसबाट ओरालेर उपचारको लागि निजगढस्थित प्रसुती गृह अस्पतालमा पु¥याइएको थियो । उपचारको क्रममा उनको राति १०ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार कागज पत्र नियन्त्रणमा लिएर प्रहरीले बसलाई भने गन्तब्यतर्फ पठाइएको छ ।
इलाका प्रहरी कार्यालय निजगढले हिजो थप एकजना फरार प्रतिवादीलाई निजगढबाट पक्राउ गरेको छ । लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट पाँच महिना २८ दिन कैद र २ हजार रुपैया जरिवान फैसला भएकी निजगढ नगरपालिका वडा नम्बर ८ खैयरघारी बस्ने जुद्धबहादुर बुढाथोकीको श्रीमती अन्दाजी वर्ष ५१ की बिमला बुढाथोकीलाई हिजो राति १०.३० बजे पक्राउ गरेको हो । पक्राउ परेकी बुढाथोकीलाई आवश्यक कारबाहीको लागि बारा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।


















