निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ स्थित बिचिटोलमा शनिबार राति चोरहरुले गोठमा आगो लगाएर घरमा राखिएको नगद २ लाख ५० हजार रुपैया चोरी गरेका छन ।

चोरहरुले स्थानीय अमरलाल स्याङ्गतानको गोठमा राती १२ः३० बजे आगो लगाएर घरमा काठको दराजभित्र डिब्बामा राखिएको रकम चोरेर लगेका हुन । गोठमा आगो लागेपछि परिवारका सदस्यहरु निभाउन भनेर बाहिर निस्किएको मौका पारेर चोरहरुको समूहले रकम चोरी गरेकोे अमरलाल स्याङ्गतानले बताउनुभयो । रकम चोरी गर्न नै गोठमा आगो लगाइएको र नियोजित तरिकाले पैसा चोरी भएको स्याङ्गतानको भनाइ छ ।

यसैबीच प्रहरीले चोरी गरेको आशंका स्थानीय २ जनालाई आइतबार बिहान पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले स्थानीय २१ बर्षिय युवक र अर्का १७ बर्षिय किशोरलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको हो । चोरी भएको मध्ये करिव ४ हजार रुपैया र उनीहरुले प्रयोग गरेको चप्पल घर नजिकै बारीमा फेला परेपछि अनुसन्धानको क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक संजयकुमार यादबले जानकारी दिनुभयो । रकम चोरेर भाग्दै गरेको अवस्थामा पैसा र चप्पल बारीमा खसेको प्रहरीले बताएको छ ।

आगलागी हुने अर्को कुनै कारण नदेखिएको, सोही अवधिमा घरबाट पैसा पनि हराएको र आइतबार बिहान केही रकमसहित चप्पल फेला परेकोले चोरी गर्ने उदेश्यले नै गोठमा आगो लगाइएको निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवरले बताउनुभयो । घटनाको अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी सहायक निरीक्षक संजय यादवले बताउनुभएको छ । आगलागी भएको थाहा पाउने बित्तिकै स्थानीयको मद्दतमा निजगढ नगरपालिका कार्यालयबाट गएको वरुणयंत्रले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट गोठमा रहेका चौपाय सुरक्षित रहे पनि पराल जलेर पुर्णरुपमा नष्ट भएको स्याङ्गतानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here