नयाँदिल्ली । नेपालले एक दशकभन्दा लामो समयदेखि गर्दै आएको थप हवाई प्रवेशमार्गको मागमा भारतसँग महत्त्वपूर्ण सहमति जुटेको छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतले भैरहवा हवाई रुटलाई दुईतर्फी बनाउन सहमति जनाएको हो।
नेपाल र भारतबीच जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा हाल एकतर्फी सञ्चालनमा रहेको ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको उल्लेख छ।
वक्तव्यमा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा कार्यविधिलाई अन्तिम रूप दिन तथा छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्ताव सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।’
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी मागलाई सम्बोधन गर्ने सहमति जुटेको हो। संयुक्त पत्रकार सम्मेलनमा यस विषयमा उल्लेख नगरिए पनि पछि सार्वजनिक गरिएको संयुक्त वक्तव्यले सहमतिको पुष्टि गरेको छ।
नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा सहमति जुटेसँगै भारतले पनि नेपालसँग बागडोग्रा विमानस्थलका लागि हवाई मार्ग उपलब्ध गराउन प्रस्ताव गरेको थियो। यस विषयमा दुवै देशबीच थप प्राविधिक परामर्श हुने जनाइएको छ।
नेपालले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप हवाई रुटको माग गर्दै आएको थियो। सीमित हवाई प्रवेशमार्गका कारण अन्तर्राष्ट्रिय उडान विस्तारमा कठिनाइ भइरहेको नेपालको भनाइ रहँदै आएको छ।
थप हवाई प्रवेशमार्ग उपलब्ध हुने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ। साथै, विदेशी वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान गर्न थप अवसर सिर्जना हुन सक्नेछ।
यसअघि पनि नेपालका विभिन्न प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्दै आएको थियो। तर, प्राविधिक, सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा सहमति हुन नसक्दा नेपालको माग लामो समयदेखि अल्झिएको थियो।
बालेन शाहको भारत भ्रमणमा यस विषयलाई प्राथमिकतामा राखिएपछि प्रारम्भिक सहमति जुटेको हो। यद्यपि, रुट सञ्चालनको विस्तृत कार्यविधि र प्राविधिक व्यवस्थापनलाई अन्तिम रूप दिन दुई देशका सम्बन्धित निकायबीच थप छलफल आवश्यक हुनेछ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी भए पनि पर्याप्त हवाई प्रवेशमार्ग र उडानको अभावमा अपेक्षित व्यावसायिक गतिविधि हुन नसकेको अवस्थामा पछिल्लो सहमतिलाई नेपालको नागरिक उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
















