विराटनगर । मोरङको रतुवामाई नगरपालिका क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल–भारत सीमा नजिकै लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि गोली चलाएको हो। प्रहरीले घटनास्थलमा आठ राउण्ड गोली प्रहार गरेको जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गोली लागेर भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवैको घुँडामुनि गोली लागेको र उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
पक्राउ पर्नेमा घाइते दुई भारतीय नागरिकसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि छन्।
प्रहरीका अनुसार राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ को मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो। तर, उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको डीएसपी मिश्रले जानकारी दिए।
प्रहरीले चाइनिज पेस्तोलबाट पाँच राउण्ड र ब्रेडा पेस्तोलबाट तीन राउण्ड गरी कुल आठ राउण्ड गोली प्रहार गरेको जनाएको छ।
घटनास्थलबाट प्रहरीले एक थान घरेलु पेस्तोल, त्यसमा प्रयोग हुने एक राउण्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन र दुईवटा मोटरसाइकल बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।
















