काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधाम र अयोध्याबीच सुरु भएको सरयू–कमला एक्सप्रेस रेल सेवाले दुई क्षेत्रबीचको प्राचीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पुनर्जीवित गरेको बताएका छन्।
अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अयोध्या र मिथिलाबीच सदियौँदेखि रहँदै आएको सांस्कृतिक सम्बन्धलाई रेल सेवाले थप प्रगाढ बनाउने बताए।
उनले भारतीय रेल सेवामार्फत दुई पवित्र तीर्थस्थललाई जोडेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे। साथै, उद्घाटन समारोहमा सहभागी हुन अयोध्या पुगेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई अयोध्यावासी तथा उत्तर प्रदेशका नागरिकका तर्फबाट स्वागत गरे।
मुख्यमन्त्री आदित्यनाथले सरयू–कमला एक्सप्रेस सञ्चालनसँगै अयोध्या र मिथिलाको संस्कृतिबीचको पवित्र तथा प्राचीन सम्बन्ध पुनः स्थापित भएको उल्लेख गरे।
उनका अनुसार रेल सेवा सुरु भएपछि नेपाल र भारतका श्रद्धालुहरूलाई धार्मिक यात्राका लागि सहज हुनेछ। नेपालका श्रद्धालुहरू अयोध्या पुगेर रामललाको दर्शन गर्न सक्नेछन् भने भारतीय श्रद्धालुहरू जनकपुरधाम पुगेर माता जानकीको पूजाअर्चना गर्न सक्नेछन्।
आदित्यनाथले यस रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे।

















