जनकपुरधाम,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद देखापरेको छ । पार्टी दर्ता भएको ६ महिना नबित्दै लोसपामा विवाद देखापरेको हो ।

पार्टी नेतृत्वले हालै प्रदेश २ र प्रदेशका जिल्लाहरुमा अध्यक्ष तोकेको छ । नेतृत्वले अध्यक्ष चयनमा मनोमानी गरेको भन्दै नेताहरु आक्रोशित बनेका छन् । उनीहरुले यो निर्णयलाई सच्याउन माग गरेका छन् ।

पार्टीको प्रदेश अध्यक्षमा जितेन्द्र सोनललाई चयन गरिएको छ । सोनलसहित धनुषा जिल्लाको अध्यक्षमा चयन भएका परमेश्वर साहलाई हटाउन नेताहरुले माग गरेका छन् ।

पार्टीका ३१ जना नेताको जनकपुरधाममा बसेको बैठकले सोनल र साहलाई अध्यक्ष बनाइएको निर्णय रद्द गर्न माग गरेको छ । दुबैलाई अध्यक्ष बनाउनु आफूहरुलाई स्वीकार्य नरहेको भन्दै नेताहरुले लोकतान्त्रिक प्रक्रिया अर्थात् सामूहिक निर्णयबाट निर्णय गर्न माग गरेका छन् ।

‘अबिलम्ब निर्णय नसच्याए बाध्य भएर अर्को कठोर कदम चाल्न बाध्य हुनेछौं’ उनीहरुले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

पार्टी स्थापना भएपछि सामूहिक निर्णय गर्ने प्रतिबद्धतालाई लत्याउँदै जिल्ला तथा प्रदेश नेतृत्व मनोनित गरिएको नेता संजय सिंहले बताउनुभयो । एकै जनालाई दोहोराई तेहराई जिम्मेबारी दिइ एकातिर एक व्यक्ति एक पदको अवधारणा लत्याइएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here