निजगढ,बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर (किमी) मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ ।
दु्रतमार्गमा पर्ने सबै जग्गा अधिग्रहण गरिसकेको नेपाली सेनाले खोकनामा ४२७ रोपनी जग्गा भने अधिग्रहण गर्नै बाँकी छ । खोकनाको पुरातात्विक महत्वलाई लोप हुन नदिन स्थानीयहरूले विरोध गर्दै आएका कारण खोकनाको उक्त जग्गा अधिग्रहणमा वर्षाैंदेखि समस्या देखिँदै आएको छ । उक्त जग्गाको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सहसचिवको संयोजकत्वमा जनप्रतिनिधि, सेनासमेतको सहभागितामा समिति गठन भए पनि हालसम्म जम्मा दुईपटक छलफल भएको छ । ती छलफलले कुनै निष्कर्ष ननिकाल्दा यो समस्या छिटै समाधान नहुने देखिएको छ । यद्यपि सेनाले भने पुससम्ममा खोकना विवाद समाधान हुने विश्वास गरेको छ ।
सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडलले ४० किमीभित्र दु्रतमार्गका ११ प्याकेजमध्ये ६ ओटा ठेक्का पर्ने जानकारी दिनुभयो । उक्त किमीभित्र पर्ने ६ ओटा प्याकेजमध्ये तीनओटा प्याकेजमा कुनै समस्या नभएकाले सेनाले पुसमै टेन्डर निकाल्ने तयारी गरेको छ । खोकना क्षेत्रमा पर्ने तीनओटा प्याकेजको टेन्डर भने अन्योलमा छ । यी प्याकेजअन्तर्गत दुई लेनका एक्स्प्रेस सडक, विशेष प्रकृतिका पुल, साधारणखाले पुललगायत संरचना निर्माणका लागि टेन्डर आह्वान गरी ठेक्का व्यवस्थापन गर्नुपर्छ । तर, २०७४ देखि ठेक्का व्यवस्थापन गर्दै आएको नेपाली सेना र सरकारले यो बिन्दुको समस्या समाधान गर्न सकेको छैन । उपयुक्त विकल्पका विषयमा पनि खासै चासो दिइएको छैन ।



















