वीरगन्ज,वीरगन्ज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्न दिने गरी नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर २ मालपोत कार्यालय नजिकै रहेको कित्ता नम्बर २१ र ५६ को खाली जग्गा रक्तसञ्चार केन्द्र वीरगन्जको भवन निर्माण गरी प्रयोग गर्ने गरी महानगरपालिका र रेडक्रस सोसाईटी पर्सा शाखाबीच बिहिबार सम्झौता भएको हो । महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको उपस्थितमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला र नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलबीच रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्ने सम्झौता भएको छ ।

वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको मिति २०७७ माघ १३ गते भएको निर्णय बमोजिम कित्ता नम्बर २१ र ५६ को खाली जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई रक्तसञ्चार केन्द्रको भवन स्थापना गरी प्रयोग गर्न जग्गा उपलब्ध गराएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले जानकारी दिनुभयो । सम्झौतामा भवन निर्माण गर्दा वीरगन्ज महानगरपालिकाबाट नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने, भवन निर्माणको लागि लाग्ने खर्च रेडक्रस सोसाईटी आपैmले स्रोत जुटाउनुपर्ने, भवन निर्माण गर्दा भुईतल्लाको पूरै भाग सवारी पार्किङ्गको लागि राख्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै पार्किङ्ग शुल्क पहिलो पक्ष महानगर र दोश्रो पक्ष नेपाल रेडक्रसबीचको सहमतिमा निर्धारण गर्ने, पार्किङ्ग शुल्क बापत उठेको रकम पार्किङ्ग व्यवस्थापन, रक्तसञ्चारको व्यवस्थापन तथा सामाजिक कार्यमा लगाउनुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ । त्यसैगरी भवन निर्माणपछि रक्तसञ्चार केन्द्रको प्रयोजनका लागि बाहेक अन्य प्रयोजनका लागि महानगरपालिकाको सहमति बिना लगाउन नपाइने र यदि त्यस्तो गरेको पाइएमा महानगरपालिकाले रेडक्रस सोसाईटीलाई जानकारी गराइ सम्झौता रद्द गर्न सक्ने पनि प्रावधान पनि राखिएको छ ।

रेडक्रस सोसाईटीले रक्तसञ्चार केन्द्रको भवन निर्माण प्रयोजन समाप्त भएमा वा अन्यत्र सरेर गएमा उक्त भवन महानगरपालिकाको स्वामित्वमा स्वतः हस्तान्तरण हुने पनि सम्झौतामा भनिएको छ । रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सूर्य नेपाल प्रालिले गत वर्ष नै १० लाख उपलब्ध गराइसकेको रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेँलले बताउनुभयो । उहाँका अनुसार रेडक्रस सोसाईटी केन्द्रले पनि केही रकम दिने आश्वासन दिएको बताउदै पर्सा, बाराका स्थानीय तहहरुले पनि रक्तसञ्चार केन्द्र भवन निर्माणको लागि आग्रह गरिने बताउनुभयो । प्रदेश २ मा अहिलेसम्म प्रादेशिक रक्तसञ्चार केन्द्र समेत स्थापना नभएको अवस्थामा निर्माण हुन लागेको रक्तसञ्चार केन्द्रको भवनलाई नै प्रादेशिक स्तरको रक्तसञ्चार केन्द्र बनाउने पहल गरिने र प्रदेश सरकारसँग पनि भवन निर्माणका लागि सहयोग माग गरिएको बताउनुभयो ।

वीरगन्ज औद्योगिक र आर्थिक नगरी भएकोले यहाँका उद्योगी व्यवसायीहरुसँग पनि धेरथोर सहयोग माग गर्ने बताउदै रक्तसञ्चार जस्तो मावनीय सेवा प्रवाह गर्ने भवन निर्माणका लागि सहयोग रकम जुट्नेमा आशावादी रहेको पनि सभापति कडेँलले बताउनुभयो । रक्तसञ्चार केन्द्रको भवन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्डमा नै ख श्रेणी अन्तर्गतको बनाईने उहाँको भनाई छ ।

Leave a Reply