कृष्ण मोहन साह

सेढवा,तिहार नजिकिँदै गर्दा वीरगन्जको बजारमा किनमेल गर्ने उपभोक्ताहरुको घुइँचो लाग्न थालेको छ ।

तिहारका लागि आवश्यक पर्ने भाइमसला, लत्ताकपडा, पाला, बिजुलीका झिलिमिली बत्ती, माटोका पाला, माला, लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामानको व्यापार बढ्न थालेको हो । यस्तै तिहारमा बढी खपत हुने भाइमसला अर्थात ड्राइ फ्रुडको मूल्य भने ह्वात्तै बढेको छ ।

विदेशबाट नै मूल्य बढेर आएकाले अधिकांश ड्राइ फ्रुटको मूल्य बढेको व्यवसायीले बताएका छन् । नरिवल, किसमिस, छोकडा, काजु, बदाम, ओखर, खुर्पानीको मूल्य प्रतिकेजीमा एक सयदेखि दुई सय रुपैयाँ बढेको हो ।

व्यवसायीहरुका अनुसार गत वर्ष प्रतिकेजी चार सय रुपैयाँ मुल्य रहेको नरिवलको मूल्य अहिले बढेर पाँच सय रुपैया पुगेको छ । यस्तै प्रतिकेजी दुई सय रुपैया रहेको छोकडाको मूल्य बढेर अहिले तीन सय रुपैयाँ पुगेको छ । गत वर्ष प्रतिकेजी चार सय रुपैयाँ रहेको किसमिसको मूल्य बढेर अहिले ६ सय रुपैया पुगेको छ ।

गत वर्ष प्रतिकेजी एक हजार रुपैयाँ रहेको बदामको दानाको मूल्य बढेर अहिले एक हजार दुई सय रुपैयाँ पुगेको छ । प्रतिकेजी पाँच सय रुपैयाँ रहेको ओखरको मूल्य अहिले बढेर ६ सय रुपैयाँ पुगेको छ । गतवर्ष प्रतिकेजी एक हजार तीन सय रुपैयाँ रहेको ल्वाङको मूल्य बढेर अहिले एक हजार चार सय रुपैयाँ पुगेको छ । सुकमेलको मूल्य भने घटेर प्रतिकेजी ३ हजार रुपैयाँ कायम भएको छ । नेपाल खाद्य तथा किराना व्यवसायी संघका अनुसार चीनबाट आउने सामान १–२ कन्टेनर मात्र छोडेको हुनाले पनि छोकडा तथा नरिवल जस्ता केही ड्राइ फ्रुटको भाउ बढेको हो । तिहारमा प्रयोग गरिने भाइ मसलामा विशेष गरी काजु, पेस्ता, बदाम, मखना, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, अलैंची, दालचिनी, किसमिस, अञ्जिर, ओखर, मिश्री, खुर्पानी, सुपारी गरी १६ थरिका ड्राइ फ्रुट पर्छन् ।

यस्तै तिहार र छठ पर्व नजिकिएसंगै पर्साको ग्रामिण क्षेत्रका बजारमा पसलेहरुले आफू खुसी सामानको मुल्य वृद्धि गरेका छन् । चाडपर्वमा बढी किनमेल हुने कपडा, किराना, ड्राइ फ्रुट, विद्युतीय सामानको मुल्य व्यपारीहरुले आफूखसी बढाएकाले उपभोक्ताहरु ठगिएका छन् । सेढवा, सुगौली, जानकीटोला, भिस्वा, पोखरिया, बहुवार्वा, महुवन, श्रीपुरपचगवा, रङ्गपुरटाडी लगायकतका ग्र्रामिण बजारमा एउटै सामानको मुल्य पसलैपिच्छे फरक फरक पर्ने गरेको स्थानीयले बताएका छन् ।

भारतबाट तस्करी गरेर ल्याइएका सामानहरु पसलेहरूले आफुखुशी मुल्य तोकेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ । ग्रामीण क्षेत्रका बजार र पसलमा व्यपारीहरुले आफु खुशी मुल्य बढाएर सामान बेच्दै आएको भएपनि राज्यको निकाय र पालिकाहरुले बजारको अनुगमन नगर्दा उपभोक्ताहरु ठगिन बाध्य भएका छन् । जिल्ला एंव पालिका स्तरमा गठन भएको बजार अनुगम समितिले पनि बजार अनुगमन नगर्दा पसलेहरुले मनपरी ढंगले समानको मेल्य बढाएर बिक्री रहेको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर ३ का स्थानीय मिथलेस चौधरीले बताउनुभयो ।

पटेर्वा सुगौली गाउपालिकाका प्रमुख प्रसासकीय अधिकृत सन्देशकुमार यादवले भने पसलेहरुले बढी मुल्य तोकेर ठगी गरेको गुनासो अहिलेसम्म पालिकामा नआएको बताउनुभयो । तर अब पालिका स्तरीय बजार अनुगमन समितिले बजार अनुगमन गरी व्यपारीले ठगेको पाइएमा कारबाही गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply