गोकुल घोरसाइने
निजगढ,जनतालाई गुणस्तरी सेवा र प्रभावकारी काम गर्न कार्यालय भवन ठूलो र राम्रो नै हुनुपर्छ भन्ने कुरा होइन रहेछ । सानो भवनको साँघुरा कोठाबाट पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नसकिन्छ भन्ने उदाहरण बाराको परवानीपुर गाउँपालिकाले देखाएको छ ।
भाडामा लिएको एउटा घरको सिमित कोठामा कार्यालय संचालन गर्दैआएको परवानीपुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश मै उत्कृष्ट पालिका बनेको छ । आफ्नै भवन अभावमा परवानीपुरले १४ वटा कोठामात्रै रहेको दुई तले घर भागामा लिएर कार्यालय संचालन गर्दैैआएको छ ।
मधेस प्रदेशका ५९ गाउँपालिका, ७३ नगरपालिका, ३ उपमहानगरपालिका र एक महानगरपालिकासहित १ सय ३६ वटा पालिकामध्ये परवानीपुर गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनको नतिजामा ६६.४७ अङ्क ल्याएर मधेस प्रदेश मै उत्कृष्ट पालिकामा परेको हो । स्थानीय तह स्रोत परिचालन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मूल्याङ्कन अनुसार गुणस्तरीय कार्य गरी नतिजा दिन सकेकाले यो पालिका प्रदेशमा उत्कृष्ट भएको हो ।
‘राम्रो भवन र फर्निचरले सेवा दिने होइन, गाउँपालिका अध्यक्ष राम क्षेत्री पटेलले भन्नुभयो, गुणस्तरीय सेवा उपलब्ध गराउन जनप्रतिनिध र कर्मचारीहरुमा लगनशीलता र तदरुकता हुनुपर्छ ।’ अध्यक्ष पटेलका अनुसार आयोगले निर्धारण गरेको सूचकमा मात्र केन्द्रित नभई जनताको आवश्यकता र समग्रमा बजेट बाँडफाँड, कार्यान्वयन, शिक्षा, स्वास्थ्य लगायतमा विशेष प्राथमिकता दिएकाले नतिजा आएको हो । कार्यालयमा बेरुजु सुन्य जस्तै रहेको र अधिकांश काम अनलाइन प्रणालीमार्फत हुने गरेको अध्यक्ष पटेलले जानकारी दिनुभयो ।
जेष्ठ नागरिक, असाहय र अपाङ्गता भएकाहरुलाई सेवा प्रदान गर्न पालिकाले विशेष व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । ‘सानोतिनो कामको लागि सेवाग्राहीले कार्यालयमा धाउनै पर्दैन, उहाँले भन्नुभयो, ‘कुनै कारणले आउनु नै प¥यो भने पनि सहयोगीहरुले हातहातमा समातेर सम्बन्धित शाखामा पु¥याएर काम गर्दिन्छन ।’ यसको लागि पालिकाले दैनिक ५ सहयोगी कर्मचारी परिचालन गर्दैआएको अध्यक्ष पटेलले जानकारी दिनुभयो । जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासमा पालिकाले यो सफलता पाएको पनि उहाँको भनाई छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग हरेक वर्ष स्थानीय तहले गरेको कार्यको मूल्याङ्कन गर्दै त्यसका आधारमा विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दै आएको छ । मधेस प्रदेशको १ सय ३६ पालिकाको नतिजा अनुसार उत्कृष्ट पाँचमा बारा र सप्तरी जिल्लाको २÷२ वटा पालिका र पर्साको एउटा पालिका परेका छन् ।
जसमध्ये बाराको परवानीपुर गाउँपालिका ६६.४७ अङ्कले पहिलो, सप्तरीको सुरुङ्गा नगरपालिका ६६.०२ ले दोस्रो, बाराकै कलैया उपमहानगरपालिका ६४.९३ अङ्कले तेस्रो भएको छ । त्यस्तै पर्साको ठोरी गाउँपालिका ६४.१४ अङ्कले चौथो र सप्तरीको सप्तकोसी नगरपालिका ५८.८४ अङ्क ल्याएर पाँचौँ उत्कृष्ट पालिकाभित्र परेका छन् ।
मधेस प्रदेशको उत्कृष्ट पाँच पालिका मध्येले अधिकांशले बजेट विनियोजन, खर्च व्यवस्थापन, बेरुजु फर्छ्यौट शिक्षा र स्वास्थ्यको मापदण्डलाई प्राथमिकतामा राखेको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताउनुभयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बजेट बाँडफाँड कार्यान्वयन, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको अवस्था लगायतलाई आधार मानेर मूल्याङ्कन गर्ने गर्दछ । जसमा राजश्व र व्यायको अनुमान, समय सीमाभित्रै पालिका सभाबाट पारित, प्रक्षेपण गरेअनुसार अर्थ मन्त्रालयमा पेस गरे नगरेको, त्यस्तै विनियोजित रकम अनुसार खर्चको व्यवस्थापन, लेखा परीक्षणबाट औँल्याएको बेरुजुको अवस्था, विद्यार्थी भर्ना, टिकाउ दर, स्तर वृद्धि, गर्भ जाँच तथा महिलाको अनुपात तथा बालबालिकाको खोप लगायतको सूचकमा मूल्याङ्कन हुने गरेको छ ।

















