सिम्रौनगढ,जनमत पार्टीका अध्यक्ष सिके राउतले सिम्रौनगढ नेपालको ऐतिहासिक भूमि भएको बताउनुभएको छ ।
शुक्रवार सिम्रौनगढमा सो पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले सिम्रौनगढको ऐतिहासिक र गौरवमय गाथा सुनाउनुभएको थियो । ‘मध्यकालमा सिम्रौनगढ एउटा शक्तिशाली राज्य थियो’, उहाँले भन्नुभयो, काठमाडौंमाथि पटक पटक आक्रमण गरेर कब्जा गरेको गौरवमय इतिहास छ ।’ यति गौरवमय इतिहास बोकेको स्थान भएर पनि सिम्रौनगढ विकास र पहिचानको दृष्टिले पछाडि परेको उहाँको गुनासो थियो । ‘वितगतका शासकहरुले सिम्रौनगढको विकासमा ध्यान दिएन, उहाँले भन्नुभयो अब हाम्रो पुस्ताले पनि यो विषयमा चासो दिएन भने इतिहासले धिक्कार्ने छ ।’

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ, पूर्व कृषि मन्त्री बसन्त कुशवाहा, बारा जिल्ला इन्चार्ज शिवनाथ पटेलसहित पार्टीका नेता तथा कार्यकर्ताहरुले बोल्नुभएको थियो ।कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता अजित महतो, मनोज साह सोनारको नेतृत्वमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेता कार्यकर्ताहरु सो पार्टी परित्याग गरी जनमत पार्टी प्रवेश गरेका छन् ।जनमत पार्टी सिम्रौनगढ नगर कार्यसमितिद्वारा आयोजित पार्टी प्रवेश तथा जनसभामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, आम जनता पार्टीका सयौंजना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतले मधेशको पहिचान झल्काउने गम्छा फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

Leave a Reply