निजगढ,खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, वीरगञ्ज पर्साले निजगढ वृहत खानेपानी आयोजना निर्माणका लागि राष्ट्रिय बोलपत्र (ठेक्का) आह्वान गरेको छ ।आयोजनाले चैत १२ गते (मंगलबार) सूचना जारी गर्दै निजगढ वृहत खानेपानी आयोजना निर्माणको लागि ठेक्का आह्वान गरेको हो ।
आयोजनाको कार्यान्वयनका लागि विभिन्न प्रकारका पाइप, फिटिङ आपूर्ति तथा जडान सहित ओएचटी, डीप बोरिङ, कार्यालय भवन तथा अन्य संरचनाहरु निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ ।

बोलपत्र दस्तावेज सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा उपलब्ध गराइएको छ । इच्छुक ठेकेदार तथा निर्माण व्यवसायीहरूले अनलाइन प्रणालीमार्फत आवेदन बुझाउनु पर्नेछ । बोलपत्र दस्तावेज वैशाख ११ गतेसम्म खरिद गर्न सकिनेछ भने सोही मितिसम्म आवेदन बुझाउनु पर्नेछ । बोलपत्र वैशाख ११ गते नै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, वीरगञ्जमा खोलिने छ ।

बोलपत्र दस्तावेजको खरिद मूल्य २० हजार रुपैयाँ तोकिएको छ भने बोलपत्र सुरक्षा रकम ७५ लाख रुपैयाँ निर्धारण गरिएको छ । ठेक्का प्रक्रियामा सहभागी हुने निर्माण व्यवसायीहरूको औसत वार्षिक निर्माण कारोबार १३ करोड ३१ लाख ६० हजार रुपैयाँ हुनु पर्नेछ । साथै, बोलपत्र क्षमता २३ करोड ९६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।निजगढ वृहत खानेपानी आयोजना क्षेत्रका नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित र प्रभावकारी रूपमा खानेपानी आपूर्ति गर्ने लक्ष्यसहित यो ठेक्का प्रक्रिया अघि बढाइएको छ ।

Leave a Reply