वीरगन्ज,नेपाली कांग्रेस पर्साले वीरगन्ज महानगरपालिकामा कुनै पनि दलसंग चुनावी तालमेल नगर्ने जनाएको छ । वीरगन्ज महानगरमा कांग्रेस सबैभन्दा बलियो रहेको भन्दै कांग्रेस पर्साले आगामी स्थानीय तहको निर्वाचनमा वीरगन्जमा अरु दलसंग चुनावी तालमेल नगर्ने जनाएको हो ।
स्थानीय संचार माध्यामहरुसंग कुरा गर्दै कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले वीरगन्ज महानगरमा कांग्रेसले अरु दलसंग चुनावी तालमेल नगर्ने स्पष्ट पार्नुभयो । यसअघि बुधबार नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले पनि पत्रकार सम्मेलन गरेर वीरगन्जमा कांग्रेसले चुनावी तालमेल नगरिने बताउनु भएको थियो ।
बिहीवार काँग्रेस पर्साका सभापति क्षेत्रीले पनि कांग्रेस आफैमा सबैभन्दा बलियो अवस्थामा रहेकाले वीरगन्ज महानगरमा अरु दलसंग चुनावी तालमेल नगर्ने बताउनुभयो । उहाँले कांग्रेस केन्द्रीय समितिले नै स्थानीय आवश्यकता हेरेर अरु दलसंग चुनावी तालमेल गर्ने निर्णय गरेकाले वीरगन्ज महानगरमा चुनावी तालमेलको आवश्यकता नरहेको बताउनुभयो । उहाँले वीरगन्ज महानगरको नगर प्रमुखको उम्मेदवार अहिले चर्चामा रहेका नेताहरु मध्येबाटै कोहि एकजना हुने पनि बताउनुभयो ।
अबको १० दिनभित्र वीरगन्ज महानगरको उम्मेदवारको टुङगो लगाएर केन्द्रीय कार्यसमितिमा सिफारिस गरिने जानकारी उहाँले दिनुभयो । वीरगन्ज महानगरमा मात्र नभइ पर्सा जिल्लाभरमै कांग्रेस बलियो अवस्थामा रहेको पनि क्षेत्रीले बताउनुभयो । त्यसैले पर्साका अन्य १३ पालिकामा पनि अरु दलसंग चुनावी गठबन्धन हुने सम्भावना कम रहेको भन्दै उहाँले पालिकाहरुमा तालमेल गर्ने नगर्ने अधिकार पालिकाका कांग्रेस कार्य समितिलाइ दिइएको बताउनुभयो । ्
फरक प्रसंगमा कांग्रेस जिल्ला सभापति क्षेत्रीले कांग्रेस पर्सामा कुनै विवाद नरहेको दाबी गर्नुभयो । जिल्ला नेतृत्वले एकलौटी गरिरहेको आरोपको खण्डन गर्दै क्षेत्रीले पार्टीको विधि विधान सबैले मान्नु पर्ने बताउनुभयो । केहि असन्तुष्ट र गुनासो भए पार्टीको बैठकमा राख्न असन्तुष्ट नेताहरुलाइ सुझाव दिदै उहाँले मिडिया र सोसल मिडियामा जथाभाबी नबोल्न चेतावनी पनि दिनुभयो । हिजोका दिनमा जेजस्तो भएपनि अब भने पार्टीको विधि विधान विपरित जाने नेता कार्यकर्तालाई कारर्बाही हुने चेतावनी पनि उहाँले दिनुभयो ।