वीरगन्ज,वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आन्तरिक राजस्व कार्यालय, पर्साका नवआगन्तुक प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदीसंगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका सभापति वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको व्यवसायीहरुले बेहोर्नु परेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो । त्यस्तै उहाँले ठूला करदाताको कार्यालय राजधानीमा मात्रै सिमित रहेको कारण मोफसलका ठूला करदाताले कठिनाई भोग्नु परिरहेकोले ठूला करदाताको कार्यालय मोफसलमा पनि स्थापना गरिनुपर्ने वा स्थानीय आन्तरिक राजस्व कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदीले कार्यालयमा कर्मचारीको सङ्ख्या कम भए पनि सेवाग्राहीहरुलाई छिटो, छरितो एवम् गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले विद्यमान कर सम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक लगाउने तजबिज नरहेको बताउनुभयो । त्यस्तै उहाँले कर सम्बन्धी शिक्षाको अभावमा करदाताहरुले जरिवाना तिर्नुपर्ने बाध्यता रहेकोले कर सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढाउने बताउनुभयो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेउवामहासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानी, अशोककुमार वैध, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा लगायतका उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here