निजगढ,गौरीशंकर कलेज निजगढले शुक्रवार निजगढमा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।
क्याम्पस परिसरबाट शुरु भएको सो कार्यक्रम क्याम्पस रोड हुदै पूर्वपश्चिम राजमार्गको बुद्धचोकसम्मको दुबै किनाराको सरसफाइपछि क्याम्पसमै फर्किएर समापन गरिएको थियो । सो क्रममा सडक र सार्वजनिक स्थानमा रहेको फोहोर संकलन गरिएको थियो । क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, क्याम्पस प्रमुख टिकाराम भट्टराई, निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा सदस्य चौलागाई, क्याम्पस संचालक समितिका सदस्यसहित समितिका पदाधिकारी, क्याम्पसका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
गौरीशंकर कलेजको नाम अंकित रातो जर्सी लगाएर कार्यक्रममा सरिक भएका थिए । सामाजिक उत्तर दायित्व र अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत कलेजले सामुदायिक सरसफाइ अभियान संचालन गरेको क्याम्पस संचालक समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।



















