वीरगन्ज,सशस्त्र प्रहरी प्रदेश २ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिबासले चालू आर्थिक वर्षको दुई महिनामा गत वर्षभन्दा बढी सामान बरामद गरेको छ ।
चालू आर्थिक वर्षको असोज १३ गतेदेखि कार्तिक १३ गतेसम्म एक महिनाको अवधिमा ४ करोडभन्दा बढीको रुपैंया मूल्य बराबरका राजस्व छलीका सामान बरामद गरेको सशस्त्र प्रहरी प्रदेश २ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।
मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरका अनुसार चालू आर्थिक वर्षको असोज १३ गतेदेखि कार्तिक १३ गतेसम्मको अवधिमा मात्रै ४ करोड ९ लाख ४८ हजार ११६ रुपैंयाको भन्सार छलीका अवैध सामानहरु बरामद गरेको हो ।
यस बाहेक सशस्त्र प्रहरीले असोज र कार्तिक २ महिनामा २०० क्यूफिट काठ समेत बरामद गरेको छ । असोज महिनामा १०३.५ क्युफिट र कार्तिक महिनामा ९६.८३ क्युफिट काठ बरामद गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो ।
त्यस्तै लागूऔषध गाँँजा १२२.९२ केजी, चरेश १० केजी, ७९ एम्पुल नुर्फिन, डाईजोपाम ८० एम्पुल, नाईट्रोभेट ६४३ एम्पुल र अन्य प्रतिबन्धित लागू औषध ११२ केजी बरामद गरेको छ ।
त्यसैगरी १३ लाख ६९ हजार चारसय मूल्य बराबरको पशुचौपाया र ३ लाख २ हजार ४ सय १८ रुपैंयाको विष्फोटक पदार्थ पटका समेत सशस्त्र प्रहरीले बरामद गरेको प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो । गत वर्षको असोज महिनामाभन्दा चालू आर्थिक वर्षमा २ करोड ५३ लाख ३१ हजार ५ सय ६६ रुपैंया बढी र कार्तिक महिनामा गत आर्थिक वर्षमाभन्दा चालू आर्थिक बर्षमा १ करोड ५६ लाख १६ हजार पाँचसय ५० रुपैंया बढीको सामान बरामद गरिएको सशस्त्र प्रहरी प्रदेश २ मुख्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले बताउनुभयो । सशस्त्र प्रहरीले सीमा सुरक्षादेखि सीमा वारपार हुने आपराधिक क्रियाकलाप तथा अवैध सामान ओसार पसार नियन्त्रणको साथै अहिले कोरोना संक्रमणको महामारीमा जोखिम बढी हुने अवैध प्रवेशलाई समेत कडा निगरानी गरिएको बताउनुभयो ।