निजगढ,बाराको निजगढमा अन्तरार्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा काठमाण्डौमा बस्दै आएका निजगढवासीले शनिबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । निजगढमा स्थायी बसोबास भएर काठमाण्डौंमा विभिन्न पेसा, व्यवसाय गर्नेहरुले अदालतको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा सहभागीहरुले वातावरणको नाममा विकास रोक्न पाइदैन, कार्यपालिकाको काममा न्यापालिकाको हस्तक्षेप बन्द गर, सर्वोच्च अदालतको दर्भाग्यपूर्ण फैसला पुर्नविचार गरियोसलगायतका नारा लेखिएका प्लेकार्ड बोकेको थिए ।
सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरुले प्रदर्शन गरेको प्रदर्शनमा सहभागी निजगढ ९ का दामोदर मैनालीले बताउनुभयो । उहाँले अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा गर्नुभयो । ‘अविवेकी फैसलाको पुर्विचार हुनुपर्छ मैनालीले भन्नुभयो, यदि हाम्रो आवाज सुनिएन भने आन्दोलनको विकल्प छैन ।’
यसैबीच निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिवार पनि निजगढस्थित पूर्वपश्चिम लोकमार्गको शहिद चोकमा स्थानीय युवाहरुले आधा घण्टा धर्ना र चक्का जाम गरेका छन । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्चको आयोजनामा भएको सो चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका थिए । धर्नामा सहभागीहरुले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । कार्यक्रममा सहभागीहरुले सर्वोच्च अदालतको निर्णय पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन । आइतवार बिहान ८ बजे पनि राजमार्गमा धर्ना गरिने सरोकार मन्चका श्यामकृष्ण घिमिरेले बताउनुभयो ।
यसैबीच सर्वोच्च अदालतले निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाएपछि निजगढ र आसपासका पालिकाहरुमा स्थानीयले थप आन्दोलनको तयारी गरेका छन ।
निजगढमा शनिवार भएको भेलाले विमानस्थल निर्माण रोक्ने सर्वोच्चको निर्णय पुनराबलोकन गराउन सडक आन्दोलनको विकल्प नभएको भन्दै संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो । विमानस्थल निर्माणको लागि दवाव दिने उद्देश्यले संघर्ष समिति गठन गर्न आगामी १७ गते मंगलवार निजगढमा सर्वपक्षीय भेलाको आयोजना गर्न लागिएको निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिनुभयो ।
भेलाले अध्यक्ष नेपालको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजनक समिति गठन गरेको छ । निजगढ विमानस्थल निर्माणको लागि आसपासका पालिकामा रहेका सरोकारवालाहरुको उपस्थितिमा संघर्ष समिति गठन गर्न लागिएको संयोजक नेपालले बताउनुभयो । समितिमा भोलाप्रसाद गौतम, तिलक घलान, महेशी कुवर, भक्तबहादुर दर्लामी, गोविन्द न्यौपाने, अम्बिका चौलागाई दुर्गाप्रसाद गौतम, बासुदेव तिमल्सिना र रमेश अर्याल सदस्य रहनुभएको छ । त्यसैगरी निजगढ सरोकार समितिले पनि अदालतको निर्णय विरुद्ध आन्दोलन गर्ने भएको छ । समितिले आन्दोलनको रणनीति तयार पार्न आइतवार समितिको बैठक आह्वान गरेको संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले बैठकको निर्णय अनुसार आन्दोलन गरिने बताउनुभयो । समितिले यसअघि पनि विमानस्थलन निर्माणको माग गर्दै निजगढमा दवावमूलक आन्दोलनको कार्यक्रम संचालन गर्दै आएको थियो ।
टाँगियावस्तीमा खुसीयाली
सिमरा,
सर्वोच्चले विमानस्थल निर्माण गर्न रोक लगाएको खुसियालीमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ टाँगियावस्तीका बासिन्दाले शुक्रबार साँझ दीपावली गरेका छन ।
बिहीबार सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल नवनाउन आदेश दिएपछि खुसीयाली मनाउँदै टाँगियावस्तिमा दीप प्रज्वलन गरिएको हो । उनीहरुले फैसल ागर्ने न्यायाधिशहरुलाई धन्यवाद समेत दिएका छन् ।
विमानस्थल निर्माण नहुने भएपछिे बसोबासस्थल छोडेर अन्यत्र जानु नपर्ने भएकोमा उनीहरु खुसी भएका हुन । स्थानीय युवा नमराज सञ्जेल अदालतले टाँगियावस्तीका जनताको पक्षमा निर्णय गरेकोले आफूहरुलाई खुसी लागेको बताउनुभयो । उहाँले अदालतको फैसलाविरुद्ध वस्ति उठाएर अब फेरि विमानस्थल बनाउने कुरा गर्नु भ्रम सिवाय केही नभएको बताउनुभयो ।
टाँगियावस्तीका एक हजार ४ सय घरधुरीका स्थानीय विमानस्थल बन्ने भएपछि स्थानान्तरणको चिन्तामा थिए । वर्षैैदेखि बसोबास गर्दै आएका उनीहरुले उचित मुअब्जाको व्यवस्था गरेर मात्रै आफूहरुको स्थानान्तरणको माग गर्दै आएका थिए ।