काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकार दृढतापूर्वक अघि बढिरहेको बताएका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिको व्यवस्थापन चुनौतीपूर्ण भए पनि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेर उद्धार तथा राहतका काम भइरहेको उनले बताएका हुन्।
बाढी आएको पाँचौँ दिन आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, कठिन भौगोलिक अवस्था र निरन्तरको जोखिमका कारण जनधन तथा भौतिक संरचनामा भएको क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको बताएका छन्।
उनले पछिल्लो पाँच दिनदेखि देशले कल्पनाभन्दा बाहिरको पीडादायी प्राकृतिक विपत्तिको सामना गरिरहेको उल्लेख गर्दै कठिन परिस्थिति भए पनि नागरिकको जीवन रक्षा गर्न सरकार दृढताका साथ अघि बढिरहेको बताए।
प्रधानमन्त्री शाहले आफन्त, घर तथा सम्पत्ति गुमाएका नागरिकको पीडाप्रति सरकार पूर्णरूपमा जानकार रहेको उल्लेख गरे। नागरिकको सुरक्षा र उनीहरूलाई राज्यप्रति सुरक्षित महसुस गराउनु सरकारको सर्वोच्च दायित्व भएको भन्दै उनले राज्यका सम्पूर्ण संयन्त्रलाई युद्धस्तरमा परिचालन गरिएको बताए।
प्रधानमन्त्रीका अनुसार हालसम्म हवाई तथा स्थलमार्गबाट ९ हजार ४३५ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार तथा राहतका लागि आइतबारसम्म ३९४ वटा उडान सञ्चालन गरिएकोमा आइतबार मात्रै थप ७२ वटा उडान गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाली सेनाका हेलिकोप्टरमार्फत प्रभावित जलविद्युत् आयोजनाका आसपासका क्षेत्रबाट २७९ जनाको उद्धार गरिएको छ। त्यस्तै, पछिल्लो दुई दिनमा रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रबाट २५० जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
उद्धार तथा खोजी कार्यमा नेपाली सेनासँग सहकार्य गर्न चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली समेत परिचालित छन्।
नुवाकोटस्थित अपर त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार प्रयास जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
नेपाली सेनाका इन्जिनियरहरूले उद्धारका क्रममा विस्फोट गराएर सुरुङ खोल्ने काम गरिरहेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बलको तालिमप्राप्त कुकुरसहितको टोली तथा नेपाल प्रहरीका विशेषज्ञसहित ९० जनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार उद्धार टोली आइतबार दिउँसो सुरुङको मुख्य भागसम्म पुगेको थियो। टोलीले २ बाइ ३ फिटको प्वाल बनाउन सफल भएको उनले बताए।
उद्धारकर्मीहरूले डोरीको सहायताले सुरुङभित्र प्रवेश गरी त्यहाँ रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि भारी उपकरणको प्रयोग, विस्फोट तथा प्वाल फराकिलो बनाउने काम एकैसाथ अघि बढाइएको छ।
त्यस्तै, अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली उद्धार कार्यमा परिचालित गरिएको छ।
रसुवास्थित चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र दक्षिण कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म २६७ जना घाइतेको उद्धार गरिएको छ। उनीहरूको प्रभावित जिल्लाका विभिन्न अस्पताल तथा काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ।
उद्धार गरिएकामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी तथा चिकित्सकसहितका टोली परिचालन गरी स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श प्रदान गर्ने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार उद्धार तथा राहतका लागि स्वदेश तथा विदेशबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त भइरहेको छ।
आइतबार मध्याह्नसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नौवटा वाणिज्य बैंकका खातामार्फत ५ अर्ब २४ करोड ७० लाख रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र स्थापना गरिएको छ। ती केन्द्रमार्फत आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
अन्तर्राष्ट्रियस्तरबाट पनि एसियाली विकास बैंक, विश्व बैंक, अमेरिका, अस्ट्रेलिया, भारत, चीन र स्विट्जरल्यान्ड लगायतका देश तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको छ।
प्रधानमन्त्री शाहका अनुसार भारतले हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि उपलब्ध गराएको छ।
बाढीका कारण अवरुद्ध भएका सञ्चार सेवा तथा सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउने काम पनि तीव्र रूपमा भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १०६ वटा र एनसेलका ७५ वटा बीटीएस टावर पुनः सञ्चालनमा आएका छन्। बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ।
बाढीपछि हालसम्म ७८१ वटा शव फेला परेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
फेला परेका शवको व्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा भइरहेको छ। पहिचान भएका शव सम्बन्धित परिवारलाई बुझाउने गरिएको छ भने पहिचान हुन नसकेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको छ।
प्रधानमन्त्री शाहले सरकार, सुरक्षा निकाय, स्वयंसेवक तथा आमनागरिकको सामूहिक प्रयासबाट मात्रै यस्तो विपत्तिको सामना गर्न सम्भव हुने बताएका छन्।
उनले बाढी तथा विपत्तिबाट प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक परिणाम प्राप्त नभएसम्म पुनर्निर्माण तथा पुनर्स्थापनाका काम निरन्तर अघि बढाइने बताएका छन्।
















