राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा कोरोना अस्पताल र बर्थिङ्ग सेन्टरको शुक्रबार एक कार्यक्रमबीच गाउँपालिका अधयक्ष मनोजकुमार गुप्ताले उद्धघाटन गर्नु भएको छ ।
गाउँपालिका अध्यक्ष गुप्ताले करोना अस्पतालमा रहेको बर्थिङ्ग सेन्टरको विधिवत रुपमा पूजापाठ रिवन काटेर उद्धघाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले गाउँपालिका एउटा पनि सरकारी बर्थिंङ्ग सेन्टर नहुँदा सर्वसाधारण महिलालाई प्रसुति गराउन समस्या भएको बताउनुभयो । उहाँले सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर नहुँदा गाउँका महिला बच्चा जन्माउने बेला सिमा पारी भारत जानु पर्ने अवस्था रहेको बताउनुभयो । बर्थिङ्ग सेन्टर संचालनमा आएपछि अब गर्भवति महिलाहरुले गाउँमै बसेर सुविधा लिन सक्ने बताउनुभयो ।
आफू निर्वाचन जितेर आएपछि स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिएको र बर्थिङ्ग सेन्टर निर्माण कार्यलाई प्राथमिकतामा राखेको पनि बताउनुभयो । ‘प्रतेक वडामा एउटा÷एउटा बर्थिङ्ग सेन्टर निर्माण गर्ने लक्ष्य थियो, उहाँले भन्नुभयो, आज मेरो सपना पूरा हुँदै छ ।’
उहाँले गाउँका सबै स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा एमबिबिएस चिकित्सक र एम्बुलेन्स सेवा उपलब्ध गराएको पनि बताउनुभयो । अहिलेसम्म गाउँपालिकाको स्वास्थ्य संस्थाहरुमा तीन जना एमबिबिएस डाक्टर र दुई वटा एम्बुलेन्स संचालनमा ल्याएको जानकारी दिनुभयो ।
वडा नम्बर ५ का वडा अध्यक्ष मौजीलाल साहको अध्यक्षतामा भएको बर्थिंङ्ग सेन्टर उद्धघाट कार्यक्रममा नेकपा एमाले गाउँपालिका अध्यक्ष प्रह्लाद गुप्ता, गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, वडा अध्यक्ष महेन्द्र साह कलवार, बिनोद साह, कानु, राजबली यादव, सदस्य मुस्लिम मियाँ, जवाहिर साह र गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शम्भु साह, चिकित्सक सुशीलकुमार ठाकुरलगायतले बर्थिङ्ग सेन्टरको महत्व र बारेमा बोल्नु भएको थियो । कार्यक्रमको संचालन मकबुल मियाँले गर्नु भएको थियो ।