कृष्णउदास खनाल
बरियारपुर(बारा),मुलुकको प्रमुख प्रवेश द्वार वीरगन्जबाट १७ किलोमिटर पूर्व र पूर्वपश्चिम राजमार्गको पिलुवाबाट २७ किलोमिटर दक्षिण पूर्वमा रहेको बारा जिल्लाको महागढीमाई नगरपालिकाको वडा नम्बर १ स्थित बरियारपुरमा रहेको गढीमाई मन्दिरमा अहिले ब्यापक भीड छ । यो भीड हरेक बर्ष लाग्ने होइन ।हरेक पाँच बर्षमा एक पटक मात्रै यो मन्दिरमाम भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

 

मंसिर महिला शुरु भएसँगै गढीमाईमा भक्तजनहरुको भीड बढिरहेको छ जब मंसिर महिना सकिनेछ तब मात्रै गढीमाईमा भक्तजनहरुको भीड पनि सकिनेछ । बाराको मात्रै नभइ नेपालकै धार्मिक पर्यटक भित्राउने बाराको गढीमाई मन्दिरको आफ्नै बिशेषता छ आफ्नै महत्व छ । ११ बिघा क्षेत्रफलमा फैलिएको गढीमाई मन्दिरको इतिहाँस रोचक छ ।

मकवानपुरको गढीसँग साइनो
मकवानपुर बाराको छिमेकी जिल्ला हो । इतिहाँस पढ्दा कुनै बेला बाराकै सिम्रौनगढका राजाले नै मकवानपुरमा राज गर्दथे पनि मुकुन्दसेनबाट मकवानपुर हुन गएको इतिहाँसका जानकारहरुको तर्क छ । मकवानपुरमा गढी भन्ने स्थान छ जुन अहिले गढी गाउँपालिकाको नाउँमा स्थापित छ । मकवानपुर गढीको एतिहाँसिक र धार्मिक महत्व आफ्नै ठाउँमा रहेपनि बाराको गढीमाईसँग भने यो गढीको सम्बन्ध छ ।

 

जब भगवान चौधरीको पक्राउ परे
बरियारपुरका एक सामान्य थारु समुदायका ब्यक्ति थिए,भगवान चौधरी । आजभन्दा करिब तीन सय बर्ष अगाडि बरियारपुरको कुनै एक घरमा चोरी भएको थियो ।चोरी आरोपमा भगवान चौधरी पक्राउ परे । उतिबेला बारामा प्रहरी कार्यालय थिएन वा अस्थायी हुँदो हो तर थुनुवा कक्ष थिएन अझै भनौं कारागार थिएन ।

 

भगवान चौधरी पक्राउ परेपछि जेल सजायँका लागि मकवानपुरको गढीमा लगियो । गढीमा त्यत्तिबेला कारगार थियो तर अहिले छैन । चोरी आरोपमा पक्राउ परेका भगवान गढीमा थुनिए । उनी माइका भक्त थिए । उनी कारगारमा बस्दा समेत चाँडो जेलबाट मुक्त हुन पाउँ भन्दै माइको भाकल गरे ।अन्ततः जेल परेको दुई बर्षपछि उनी रिहा भए र उनी आफ्नै गाउँ बरियारपुर फर्किए अनि आफू जेल परेको मकवानपुरको गढी र आफूले आस्था राख्ने भगवतीको नाउँ माइ जोडेर उनले हालको गढीमाई स्थापना गरे र सोही समयदेखि गढीमाइ रहन गयो र सोही समयदेखि उक्त स्थानमा हरेक ५ बर्षमा मेला लाग्ने गर्दछ भन्ने बिश्वास छ ।

 

पूजारीमा चौधरी समुदाय मात्रै
भगवान चौधरीको ११ औं पुस्ताका रुपमा गढीमाईको मुख्य पुजारीका रुपमा अहिले शिव चौधरी रहेका छन् । उनले आफू भगवान चौधरीको ११ औं पुस्ता भएको बताए । उनका अनुसार भगवान चौधरीपछि लतागार मन्दिरमा बिधि पूर्वक पूजा हुने गरेको छ । यो मन्दिरमा पुजारीको रुपमा चौधरी भन्दा अन्य समुदायका ब्यक्ति बस्न वा राख्न मनाही छ । एक त आफ्नो पूर्खाले स्थापना गरेको मन्दिर अरुलाई छाड्न नसकिने सो समुदायका ब्यक्तिहरुको तर्क छ भने अर्को समुदायका ब्यक्ति पुजारी राखिदा अनिष्ट हुने बुझाइ शिव चौधरीको छ ।

होटलहरुमा भक्तजनहरुको भरिभराऊ
बाराको महागढीमाई वडा नम्बर १ बरियारपुरमा रहेको यो मन्दिरमा लाग्ने मेलाका लागि चढाइने पशु बलीका कारण देश बिदेशबाट भक्तजनहरु आउनेक्रम बढेको छ । बाराको सदरमुकाम कलैयादेखि वीरगन्जका होटलहरु समेत भरिभराउ भएका छन् । छिमेकी देश भातबाट मात्रै नभइ दक्षिण एसिया र केही युरोपियन देशबाट समेत गढीमाईमा लाग्ने मेला अवलोकनका लागि भक्तजनहरु आउने गर्दछन् ।

 

आफ्नो होटल मंसिर १ गतेबाट नै भरिभराऊ भइरहेको कलैयामा रहेको एभरेष्ट होटलका संचालक सीताराम साहले बताए । उनका अनुसार गढीमाईमा मेलाका लागि भारत सहित संघीय राजधानी काठमाडौं र देशका बिभिन्न स्थानबाट भक्तजनहरु आएका छन् । उनका मात्रै होइन कलैया र वीरगन्जका अन्य होटलहरु पनि भरिभराऊ भएका छन् ।

 

बली अनिवार्य
गढीमाई मन्दिरको अर्को मुख्य आर्कषण भनेको बली प्रथा हो। बली प्रथाका बिषयमा सर्बोच्च अदालतले दुई बर्ष अगाडि नै गढीमाई मन्दिर ब्यवस्थापन समितिका नाउँमा आदेश जारी गर्दै बली प्रथा रोक्न निर्देशन दिएको छ । पशु अधिकारवादीहरुको उजुरीपछि सर्बोच्चको फैसला आएको हो तर मन्दिरका पूजारी शिव चौधरीले बली अति आवश्यक रहेको बताएका छन् । मन्दिरमा मंसिर १७ र १८ गते बली चढाइने र पंचबली आफूहरुले नै चढाउनु पर्ने तर्क छ,उनको छ ।

 

मन्दिरमा मुसा,राँगा,पाडो,बोका र सुँगुरको बली मन्दिरका पुजारीले चढाएपछि भक्तजनहरुले बली चढाउने गर्दछन् । मनोकामना पूरा भएको र पूरा हुने आशले नेपालका मात्रै नभइ भारत र अन्य देशका भक्तजनहरुले समेत मन्दिरमा बली चढाउने गर्दछन् । बली प्रथा निरुतहित गर्ने लक्ष्य यस पटक राखिएको तर बली अन्त्य हुने संभावना कम रहेको गढीमाई मेला ब्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाको भनाइ छ ।

 

 

सर्बोच्च अदालतले दिएको आदेश र पशु अधिकारकर्मीहरुको भनाइलाई आत्मसाथ गर्दै बली निरुत्साहित गर्नका लागि प्रयास जारी राखिने उनी बताउछन् । तर,भक्तजनहरुले भने बली आफूहरुको इच्छा भएको बताएका छन् । 

Leave a Reply