पुष्पराज खतिवडा
मनहर्वा,गत साताको बेमौशमी वर्षाका कारण बारा जिल्लाको धान बालीमा भएको क्षेतिको वास्तविक विवरण संकलन हुने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले क्षेतिको यथार्थ विवरण पेस गर्ने गरी क्षेति मुल्याङ्ककन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बसेको बैठकले प्रारम्भीक क्षेतिको विवरण प्राप्त भएपनि यथार्थपरक विवरणका लागि पालिकाका वडाअध्यक्षहरुको संयोजकत्वमा क्षेति मुल्याङ्ककन समिति गठन गरेको हो ।
बालीक्षेति भएका स्थानीय तहका वडा अध्यक्ष संयोजक तथा स्थानीय निकायमा कार्यरत कृषि तथा पशुका कर्मचारी र प्रहरी कार्यालयका ईन्चार्ज सदस्य रहने गरी ३ सदस्य क्षेति मुल्याङ्ककन समिति बनाइएको हो ।
बैठकले जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्नुपर्ने विवरणको ढाँचा तयार गर्ने जिम्मा कृषि ज्ञान केन्द्र बारालाई दिएको छ । क्षेति भएको बालिको विवरण सहित कृषकहरुले यथाशिघ्र संबन्धित वडा कार्यालयमा लिखित निवेदन दिनु पर्ने कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनु भयो ।
यस्तै संघ सरकारले बर्षाका कारण धानबालिमा भएको क्षेतीका आधारमा २० देखी ६५ प्रतिशत सम्म राहत उपलब्ध गराउने बताएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । साना किसान बढीमा १० कठ्ठा जग्गामा धानबाली भएकालाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिनेछ । त्यस्तै, मध्यम किसान अर्थात् १० कठ्ठादेखि ३ बिगाहासम्म धानबालीमा क्षति भएकालाई क्षतिको ३० प्रतिशत र ठूला किसानलाई क्षतिको अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने जनाईएको छ । बारा जिल्लामा मात्रै ९ हजारबढी हेक्टर क्षेत्रफलमा लगाईएको धानबालिमा क्षेती भएको प्रारम्भीक अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख यादवले जानकारी दिनुभयो ।