काठमाण्डौं,इरानमा दुई हप्ताभन्दा धेरै समयदेखि चलिरहेको सरकारविरोधी आन्दोलनका कारण जनजीवन कष्टकर बनेको छ । सरकारको तीव्र दमनका बीच हजारौँ मानिसहरू सडकमा निस्किएका छन् ।अमेरिकामा रहेको ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीले आन्दोलन शुरू भएयता ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेको जनाएको छ । १० हजार ६ सय जनाभन्दा धेरै पक्राउ परेका छन् ।

इरानमा इन्टरनेट र फोनसेवा बन्द छ । सेनाले प्रदर्शनकारीलाई ताकेर सीधै गोली हान्दा सडक युद्धमैदानजस्तै बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शव ट्रकमा राखेर अन्यत्र लैजाने गरेका कारण ज्यान गुमाउनेको सङ्ख्या यकिन गर्न मुश्किल परेको छ ।इरानमा ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै युरोपसहित विश्वका धेरै देशमा इरानी नागरिकको पक्षमा प्रदर्शन भएको बीबीसीले जनाएको छ । महँगीविरुद्ध शुरू भएको प्रदर्शनमा अहिले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको शासन अन्त्य हुनुपर्ने मुख्य माग छ ।

इरानका महान्यायाधिवक्ताले विरोध गर्ने जोसुकैलाई ईश्वरको शत्रु मानिने बताउनुभएको छ । इरानमा यो अपराधका लागि मृत्युदण्डको व्यवस्था छ । यस्तै सर्वोच्च नेता खामेनेईले प्रदर्शनकारीहरूलाई ट्रम्पलाई खुशी पार्न चाहने जमातको संज्ञा दिनुभएको छ ।प्रदर्शनकारीहरू मारिएका घटनालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । यस्तै इरानले पनि आफ्नो देशमा आक्रमण गरेमा अमेरिकासँगै उसको साझेदार इजरायलमा समेत प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

आन्दोलनकारीहरूले पूर्वयुवराज रेजा पहलवीलाई नेतृत्व लिन आग्रह गरिरहेका छन् । उहाँ इरानका अन्तिम शाह मोहम्मद रेजा पहलवीका जेठा छोरा हुनुहुन्छ ।सन् १९७९ मा इरानमा भएको आन्दोलनमा सेनाले दमन गर्न अस्वीकार गरेपछि शाही सत्ता समाप्त भएको थियो । त्यसपछि शाही परिवार भागेर इजिप्ट हुँदै अमेरिका गएको हो ।
पछिल्ला वर्षहरूमा पहवलीले इरानमा संवैधानिक राजतन्त्र पुनस्र्थापना गर्न सकिने बताउँदै आउनुभएको छ । उहाँले वंश विरासतमा नभएर निर्वाचित राजाको अवधारणा अघि सार्नुभएको छ ।गएको वर्ष जुनमा इरान र इजरायलबीच भएको १२ दिने युद्धमा उहाँले इजरायलको पक्षधरता लिनुभएको थियो । अहिले इजरायलले उहाँको पक्षधरता लिइरहेको छ ।

Leave a Reply