वीरगञ्ज,जिल्ला सरकारी वकिलको कार्यालय पर्साले रवि लामिछानेसँग मंगलवार करिब ५ घण्टा बयान लिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान नौ बजेदेखि सुरु भएको बयान मंगलवारका लागि सकिएको हो । जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी दिनुभयो । लामिछानेसँग अब लिखित बयान हुने जानकारी उहाँले दिनुभयो ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान नसकिएकाले उनलाई मंगलवार पनि पर्सा प्रहरी कै हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ ।
वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेपछि प्रहरीले लामिछानेमाथि अनुसन्धान थालेको हो । लामिछानेसहित १४ जनामाथि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा मंगलवार पनि वीरगञ्जमा प्रदर्शन भएको छ । सहकारी ठगी प्रकरणमा नभई राजनीतिक प्रतिशोधका कारण लामिछानेलाई फसाइएको दाबी गर्दै प्रदर्शनकारीले उनको रिहाइको माग गरेका छन् ।
प्रदर्शनका क्रममा वीरगञ्जको क्लासिक बैंक्वेटबाट सुरु गरिएको ¥यालीले नगर परिक्रमा गरेको थियो । सहभागीहरूले रवि लामिछानेलाई रिहाइ गर र राजनीतिक प्रतिशोध साध्न पाईदैन जस्ता नारा लगाएका थिए ।रवि लामिछानेलाई वीरगञ्ज ल्याइएपछि कार्यकर्ताहरुले प्रदर्शन गर्नसक्ने कुरालाई ध्यानमा राखेर यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
फोटो पनि छ ।