कलैया,नेपाल सरकारले गरिबीको रेखामुनि रहेका नागरिकहरुलाई प्रोत्साहन गर्न संचालन गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिक रुपमा देशका सबै भागमा अघि बढाएको सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका केन्द्रीय अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
सामाजिक सुरक्षा सम्बन्धि नागरिक समाजका प्रतिनिधिहरुको लागि आयोजना गरिएको पाँच दिने तालिमको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सो कुरा बताउनुभएको हो । पौडेलले सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारको सहयोगीका रुपमा नागरिक समाजले पनि प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको जानकारी गराउनुभयो ।
बाराको कलैयामा बुधबारदेखि तालिम शुरु भएको हो । नेपालको संविधान २०७२ को धारा ४२ को सामाजिक न्यायको हक अन्तर्गत उपधारा २ मा आर्थिक रुपले बिपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र बिकासका लागि राज्यले पहिलो प्राथमिकता राखी काम गरिरहेकोमा सरकारको कामलाई धन्यवाद समेत पौडेलले व्यक्त गर्नुभयो । राज्यको सेवा सुविधा प्राप्त गर्ने लक्षित वर्गले भोग्नु परेको समस्या हल गर्न र सुविधामा पहँुच बढाउन गैरसरकारी संस्थाको प्रतिनिधिहरुको भूमिका अत्यावश्यक रहने धारण व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलैया नगरपालिकामार्फत सामाजिक सुरक्षा कार्यक्रम संचालन गर्ने क्रममा विद्यमान नीति, कार्यक्रम एवं बजेटका बारेमा प्रतिनिधिहरुलाई जानकारी गराई आगामी दिनहरुमा सामाजिक सुरक्षा सम्बन्धि सवालहरुको गुनासो र सम्बोधन गर्न सक्ने संयन्त्रको विकास गर्ने उद्देश्य कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अधिकृत सरोज आचार्यले बताउनुभयो ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र सिविसको आयोजना एवं संरक्षण नेपाल, बाराको समन्वय तथा वि सोशियल मोभमेन्ट्स, बेल्जियमको सहयोगमा तालिम शुरु भएको हो । संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सदस्य पन्नालाल दास, गैसस महासंघका सदस्य मन्जु सुवेदी, जेष्ठ नागरिक समाज बाराका भरतबहादुर मल्लसमेतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन पारस जयसवालले गर्नुभएको संस्थाका कार्यक्रम संयोजक मुकेशकुमार कुशवाहाले जानकारी दिनुभयो ।