असार २८ गते अथवा एक महिनाअगाडि आजैको बिहानपख वीरगञ्ज र कलैयासहित रौतहटका केही नागरिकहरुको सर्वश्व खोसिएको दिन हो ।घर फर्किने आश लिएर र काठमाडौं पुग्ने सपना बोकेर हिँडेका ६५ जना यत्रुहरु त्रिशुलीमा बगेका थिए । शुरुमा त पीडित परिवारले आफन्तहरुको सास पाइन्छ कि भनेर आश गरेका थिए । तत्कालिन समयमा गृहमन्त्री रहेका रवि लामिछानेबाट पनि पीडित परिवारले धेरै आश गरेका थिए । हुन त, विपत्तिको कुरामा गृहमन्त्री रविले गर्न सक्ने ठाउँ नभएर पनि होला केही गर्न सक्नुभएन र केही समयपछि त उहाँको पद पनि गयो ।
त्रिशुली नदीमा दुईवटा बस बगेको एक महिना भयो । एक महिनामा त्यो नदीमा पनि धेरै पानी बगिसकेको छ । देशमा सरकार नै फेरियो तर त्रिशुलीमा २ वटा बससंगै बगेका यात्रुहरुका यात्रुहरुको अझै पनि अत्तोपत्तो छैन । थोरै यात्रुहरुको अवस्था जानकारीमा आएपनि धेरै यात्रुहरु (३० जनाभन्दा बढी) को अवस्था अझै अज्ञात छ । सोही दुर्घटनामा परेका ३ जनाले भने धन्न जसोतसो पहिरोमा बग्दै गरेको बसबाट हामफालेर ज्यान जोगाएका छन् ।एक महिनासम्म पनि पीडित परिवारले लाश र सासको अवस्थाको विषयमा जानकारी नपाउँदा पीडितहरुले यो देशमा सरकार पनि छ भन्ने कुराको कसरी अनुभूूति गर्ने ?
हुन त सरकारले एउटा समिति पनि बनाएको छ । तर त्यस्ता घटनामा गठन हुने समिति र त्यसले दिएको प्रतिवेदन नेपालमा कार्यान्वयन हुदैहुदैनन् । अब सिमलटारको विषयमा पनि सरकारले बनाएको समितिले दिएको सुझावहरु कार्यान्वयन हुदैनन् । फेरि यो समितिले के सुझाव दियो भन्ने कुरा पनि स्पष्ट भएको छैन । कम्तिमा अब सरकारले बस खोज्न नसके पनि पीडित परिवारलाई राहतको व्यवस्था गरिदिनु पर्दछ भने यस्ता दुर्घटना फेरि नदोहोरिउन् भन्नका लागि प्रभावकारी नीति बनाउन आवश्यक छ । केवल समिति बनाउने अनि प्रतिवेदन तयार पार्ने र थन्काउने गरेर मात्रै यस्ता घटनाहरुको न्यूनीकरण हुदैन् ।
















