नरेश गुप्ता

बरियारपुर,जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहले महिलाहरुले हिंसा सहेर बस्नु नै अपराधलाई बढावा दिन सहयोग गरे सरह भएको बताउनु भएको छ ।

राष्ट्रिय महिला आयोग काठमाडौले कलैयामा आयोजना गरेको स्थानीय तहमा न्यायिक समिति तथा पदाधिकारीहरुबीच लैङ्िगक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले महिला जनप्रतिनिधिहरुलेसमेत खुलेर कार्य क्षमता देखाउनु पर्नेमा जोड दिनु भएको थियो ।

हिंसामा परेका महिलाहरुको उचित न्याय सम्पादन गरि उनीहरुको संरक्षण गर्नु न्यायिक समितिको दायित्व भएको उहाँले बताउनुभयो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रिय महिला आयोगको गठन भएको ७ महिना मात्र भएको बताउदै आयोगको कार्यक्षेत्रमा हिंसाका घटनामा सरकारलाई सिफारिस गर्ने, महिला हक अधिकारको लागि कानुन बनाउने, सहजीकरणको भुमिका निर्वाहा गर्ने मात्रै भएको बताउनुभयो ।

प्रदेश नम्बर २ मा महिला हिंसाका सबैभन्दा बढी घटना हुने गरेको र हिंसा न्युनीकरणको लागि राज्यको संयन्त्र, नागरिक समाज, जनप्रतिनिधि, अर्धन्यायिक संघसस्थाहरुसंग समन्वय गरि समाजलाई हिंसा मुक्त पार्न सकिने पनि आयोगकी अध्यक्ष पराजुलीको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले असल समाज निर्माणको लागि बालबालिकालाई उचित शिक्षा दिनु पर्नेमा जोड दिनुभयो । महिला हिंसाका घटना राष्ट्रिय समस्याको रुपमा रहेको भन्दै अशिक्षा, गरिबीका करण यस्तो भएको प्रजिअ कटुवालको भनाइ छ । मानिसले जहिले पनि अरुको बिरोधमात्रै गर्ने मानसिकता हावी रहेकोले समाजमा सकारात्मक सोचको खाँचो रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बाराका प्रहरी प्रमुख दिपेन्द्र शाहीले समाजमा हिंसा बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सुवर्ण गाउँपालिकाकी उपाध्यक्ष बबिता यादव, प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष गिता साह , पचरौता नगरपालिकाकी उपप्रमुख ईन्दु देबी, महिला संजाल बाराकी अध्यक्ष बबिता जैसवाल, अन्तरपार्टी महिला संजालकी अध्यक्ष शिला साह, नेपाल पत्रकार महासंघ बारा कार्यसमिति सद्स्य नरेश गुप्ता, जिल्ला सरकारी वकिल कार्यलय बाराका प्रमुख जुद्वबहादुर आले , महिला आयोगकी सद्स्य विद्याकुमारी सिन्हालगायतले अन्तरक्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय महिला आयोगकी मनोविमर्शकर्ता पार्वती सुवेदीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here