विद्यार्थी भनेका देशका कर्णधारहरु हुन् । तर हाम्रो समाजमा तीनै कर्णधारहरुलाई पनि राजनीतिक स्वार्थको सिकार बनाइने गरेको छ । नेपालको राजनीतिको कुरा गर्ने हो भने विद्यार्थीहरुको भविष्यमाथि सबै राजनीतिक दलहरुले आफ्नो स्वार्थसिद्धिमा प्रयोग गरेका छन् । मंगलबार बाराको पचरौता नगरपालिकामा पनि त्यस्तै घटना भएको छ । त्यहाँको एक विद्यालयका विद्यार्थीहरु शिक्षक अभावमा पढन नपाएको भन्दै उत्रिएका थिए । आन्दोलनको क्रममा विद्यालय र पचरौता नगरपालिकामा पनि तोडफोड गरिएको र भौतिक सामग्रीमा क्षेति पुर्याइएको छ । विद्यार्थीको समस्या जायज भएपनि तोडफोडको घटनालाई निश्चय पनि सही मान्न सकिन्न ।
यो घटनामा पनि अमुख पक्षको राजनीतिक स्वार्थ जोडिएको र विद्यार्थीलाई प्रयोग गरिएको भन्ने खबर पनि बाहिर आएको छ । एक हिसाबले हेर्ने हो भने आफ्ना माग पुरा गराउने नाममा आधारभूत तहको कक्षामा अध्ययन गर्ने कलिला बालबालिकाले मात्रै यसरी तोडफोडमा उत्रिने शंभावना कम नै रहन्छ । यसमा अर्को कुनै पक्षको उक्साहट नहोला भन्न सकिन्न । यस घटनामा पनि विद्यार्थीलाई प्रयोग गरिएको अनुमान गरिएको छ ।
हुन त, नेपालमा भएका सबै राजनीतिक आन्दोलनमा विद्यार्थीहरुलाई प्रयोग गर्ने गरिन्छ र राजनीतिक लक्ष्य प्राप्त भएपछि भने ‘खोलो तर्यो लौरो बिर्सियो’ भने झै विद्यार्थीहरुको योगदानलाई बिर्सदै पनि आइएको छ ।
पचरौता नगरपालिकाको घटनाले स्थानीयस्तरमा समेत विद्यार्थीहरुलाई प्रयोग गरेर आफनो अभिष्ट पूरा गर्ने कोसिश गर्ने गरिएको देखिन्छ । स्थानीयस्तरमा पनि विद्यार्थीलाई प्रयोग गरेर विभिन्न समूहले उनीहरुको भविष्यमाथि खेलवाड गर्ने गरेका छन ।
विद्यार्थी जीवन भनेको ज्ञान हासिल गर्ने अवस्था हो । यसको लागि उनीहरुले उपयुक्त वातावरणमा पढन र नयाँनयाँ कुरा सिक्न पाउनु पर्दछ । यो उनीहरुको अधिकार पनि हो । यसको लागि विद्यालयमा आवश्यक शिक्षकहरुको व्यवस्था गरेर विद्यार्थीहरुको पढ्ने पाउने अधिकारलाई सुनिश्चित गरिनु पर्दछ ।
पढ्न नपाएपछि विद्यार्थीहरु आन्दोलित हुन सक्छन् र त्यहाँ विभिन्न स्वार्थी समूहहरुको चेलखेल पनि बढन सक्छ । स्थानीय सरकारहरुले यो बिषयमा बेलैमा ख्याल गर्न आवश्यक छ । उनीहरुले बेलैमा ध्यान दिन सकेनन भने यसले भयावहक समस्या उत्पन्न नगर्ला भन्न सकिन्न । समयमा नै विद्यार्थीहरुको मागको सुनुवाइ भएन भने समस्या झनै बढ्ने हुँदा यो विषयमा स्थानीय सरकार गम्भीर बन्न आवश्यक छ ।