राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा बुधबार नेपाली कांग्रेसले दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कांग्रेस छिपहरमाई वडा नम्बर ५ कमिटीले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । ‘अब चाँडै नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन हुदै छ, नेता रिजालले भन्नुभयो, सबै साथीहरु एकजुट भएर निर्वाचनको तयारीमा लाग्नुहोस ।’ नेता रिजालले जनताको सेवा गर्नु कांग्रेसको धर्म भएको बताउदै चुनावमा हार जित जे भए पनि निस्वार्थ भावनाले जनताको सेवामा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुसंग आग्रह गर्नुभएको थियो ।
उहाँले मुलुकमा राजनीतिक क्रान्ति पूरा भएको भन्दै समाजिक क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । समाजमा रहेका विकृति, विसंगति र कुरुति हटाउन समाजिक क्रान्तिको आवश्यकता रहेको बताउँदै नेता रिजालले देशमा उत्पन्न हुने जस्तोसुकै संकटको सामाधान पनि काँग्रेस पार्टीले नै गर्ने दाबी गर्नुभयो । कांग्रेशले वर्तमान गठबन्धन सरकारको नेतृत्व पनि देशलाई संकटमुक्त पार्ने उद्देश्यले गरेको पनि उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका वडा समिति अध्यक्ष धुरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस पर्साका जिल्ला सचिव किशोरी साह, क्षेत्रीय सभापती रमेश पाण्डे, जिल्ला सदस्य नवीन सिंह, क्षेत्रीय सचिव श्रीकान्त यादव, बलिष्टर अहमद, श्याम पटेल, रामेश्वर महतो, किशोर जयसवाल, विश्वास साह, मुन्ना जयसवाललगायत नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।