पुष्पराज खतिवडा

मनहर्वा,कृषि क्षेत्रको विकासले मात्रै राष्ट्रले समृिद्ध हाँसिल गर्ने भएपनि संघ सरकारले यस क्षेत्रको विकासमा ध्यान नदिएको प्रदेश २ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले बताउनु भएको छ ।

करैयामाई गाउँपालिका वडा नम्बर ५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाको ११ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले नाराले मात्रै समृद्धि हाँसिल हुन नसक्ने बताउनुभयो ।

प्रदेश सरकार कृषि क्षेत्रको विकासका लागि गम्भीर रहेको सुनाउदै मन्त्री यादवले किसान समृद्ध भएमात्रै देशले समृद्धी प्राप्त गर्ने पनि बताउनु भयो । ‘प्रदेश सरकारको सानो बजेटबाट कृषि क्षेत्रको विकासमा चाहेको अनुसार काम गर्न सकिने अवस्था छैन, मन्त्री यादबले भन्नुभयो, ‘तर संघीय सरकारले कृषि क्षेत्रलाई पर्याप्त ध्यान दिएको छैन ।’ ‘राज्यको कुल आयको ७० प्रतिशत हिस्सा उपभोग गरिरहेको संघ सरकारले बार्षिक बजेटमा कृषि क्षेत्रका लागि कुल बजेटको २.६७ प्रतिशत छुट्याएको छ, उहाँले भन्नुभयो, बरु प्रदेश सरकारले कुल बजेटको १२ प्रतिशत छुट्याएको छ ।’ यसबाट संघीय सरकार कृषि क्षेत्रको विकासमा उदासिन रहेको प्रष्ट हुने मन्त्री यादबको दाबी थियो ।

यस्तै कार्यक्रममा सहभागी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव नम्रता सिंहले सहकारी समानताको स्वरुप भएको बताउनुभयो । महिलालाई सक्षम र आत्मनिर्भर बनाउन सहकारी अभियानको महत्वपूर्ण भुमिका रहेको उहाँको भनाइ थियो । कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्नु पर्ने चुनौतिका बीच मल, बिउ, विषादी र सिंचाइलगायतका यावत समस्या समाधानमा संघीय सरकारको कृषि मन्त्रालय गम्भीर रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामी, प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक रत्नकुमार झा, कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव, पशु विज्ञ केन्द्र बाराका प्रमुख शंकर साह, साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहिनी, उपाध्यक्ष कनाईलाल थारु, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडालगायतले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

२ हजार १७६ सदस्य रहेको सहकारीले करिब ३२ करोडको कारोबार गर्दै आएको जनाएको छ । सभाको अवसरमा प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा करिब १ करोड ४५ लाख रुपैंयाको लागतमा संस्थाले संचालन गरेको कस्टम हायरिङ्गको समेत कृषि मन्त्री यादबले बिहीबार रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

कस्टम हायरिङ्ग कार्यक्रम अन्तरगत संस्थाले टेक्टर, कम्बाईन मेसिन लगायतका कृषि उपकरण खरिद गरि प्रयोगमा ल्याएको संस्थाका प्रबन्धक भुपेन्द्र चौधरीले जानकारी दिनु भयो ।

संस्थाका अध्यक्ष कान्ती देवीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन रितु देवी चौधरीले र स्वागत साना किसान विकास बैंककी अधिकृत उर्मिला सुवेदीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here