काठमाण्डौ – कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले अबको १० वर्षमा कृषिमा देशलाई आत्मनिर्भर हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को ‘किसान–२’ परियोजनाको आज समापन कार्यक्रममा बोल्दै कृषि मन्त्री साहले धान, मकै, मुसुरोको खेती बढी हुने तराई मधेस लगायतका क्षेत्रबाट यसको शुरुवात गर्ने बताउनुभएको हो । यी क्षेत्रमा उत्पादन वृद्धि र बजारीकरणमा सघाउन मन्त्रालय तयार रहेको उहाँको भनाई छ ।

मन्त्री साहले कृषिलाई व्यावसायिकरण गर्न निजी साझेदारी बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । कृषि विकासका लागि मन्त्रालयको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै उहाँले आयोजनाको धान, मिल र मकै सङ्कलन मोडलले किसानलाई आफ्नो बालीको उचित मूल्य पाउन सघाएको भन्दै धन्यवाद दिनुभयो । यो मोडल सात सय ५३ वटै पालिकामा पु¥याउने कृषि मन्त्रीले बताउनुभयो ।यस्तै कार्यक्रममा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली कृषि सम्भावनाको उपयोग गर्दै, किसानहरूको आय वृद्धि, बजारीकण, पहुँच विस्तार तथा खाद्य सुरक्षाको सुधारमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा कृषि क्षेत्रको तथ्याङ्क सङ्कलन विश्लेषण र दुरुस्त राख्ने कार्यलाई थप व्यवस्थित गर्न थप सहयोग पु¥याउनका लागि केन्द्र, प्रदेश र पालिकामा उपयोगमा ल्याउने गरि आठ सय वटा ट्याबलेट र अन्य सूचना र सञ्चार प्रविधि उपकरणहरू मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको थियो । ‘किसान–२’ परियोजनाले सात वर्षमा दुई लाख ७० हजार छ सय जना किसानलाई सहयोग गरेको छ ।नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यमा परियोजनाले २५ वटा जिल्लामा कृषि उत्पादन र बिक्रीलाई उल्लेखनीय रूपमा बढाएको छ ।

सन् २०११ देखि अमेरिकी सरकारको ‘फिड द फ्युचर’ कार्यक्रमले आठ लाखभन्दा बढी किसानलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।
यसैबीच मन्त्र साहले अब रासायनिक मलको अभाव नहुने दाबी गर्नुभएको छ । प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कृषिमन्त्री साहले चालू आर्थिक वर्ष र आउँदो आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने दाबी गर्नुभएको हो ।मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभयो । उहाँले थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पूरा हुने बताउनुभयो ।

मन्त्री शाहले आउँदो आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले विनियोजित बजेटबाट नै छ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट पार्नुभयो ।उहाँले आउँदो आर्थिक वर्षमा मलको सहज उपलब्धताका लागि दुई लाख ५० हजार मेट्रिक टनको टेन्डर आह्वान भइसकेको र ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेकोभन्दै मलको अभाव नहुने बताउनुभयो ।

Leave a Reply