वीरगञ्ज,पर्सा प्रहरीले वीरगञ्जबाट एक जना व्यवसायीलाई पक्राउ गरेको छ । झुठो विवरण पेस गरी नेपाली नागरिकताको प्रमाण पत्र लिएको आरोपमा वीरगञ्ज आदर्शनगरका व्यवसायी निरञ्जन अग्रवाललाई पक्राउ गरेको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।जन्मको आधार देखाएर अग्रवालले लिएको नागरिकता जिल्ला प्रशासन कार्यालय पर्साबाट १८ फागुन २०६३ मा जारी भएको थियो । नागरिकता लिनुअघि उनले २०५१ सालमा भारतीय नागरिक भनेर उल्लेख गरी सवारी चालक अनुमती पत्र लिएको खुलेको छ । स्थानीय नरेश ठाकुरले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीको आधारमा प्रहरीले अग्रवाललाई सबै प्रक्रिया पूरा गरेर पक्राउ गरेको प्रहरी उपरीक्षक ढुङ्गेलको दाबी छ ।
भारत राजस्थानका बासिन्दा अग्रवाल विगतमा पिंकी सुपारीको नामले परिचित थिए । उनको वीरगञ्जको आदर्शनगरमा स्वीटमार्ट फुड इण्डष्ट्रिज छ । जसबाट यसअघि पनि ब्राण्ड चोरी गरेर नक्कली सेन्टोफ्रेसको उत्पादन गरी बिक्री वितरण गर्दै आएको भन्दै उनी विवादमा परेका थिए । सोही बिदेशी ब्राण्ड चोरीको आरोपमा उनी यसअघि पनि प्रहरीको नियन्त्रणमा परिसकेका थिए ।
पिंकी स्वीट सुपारी लगायतका अन्य उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि उनले भन्सार छलेर अवैध रुपमा ल्याउने गरेको बताइएको छ ।अग्रवाल पक्राउसँगै अन्य दोहोरो नागरिकता भएका व्यक्तिहरुलाई पनि पर्सा प्रहरीले पक्राउ गर्ने तयारी गरिहेको बुझिएको छ । वीरगञ्जसहित पर्सा जिल्लाका विभिन्न पालिकाबाट दर्जनौं व्यक्तिहरुले झुठो विवरण पेश गरेर नक्कली नागरिकता लिएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताउनुभयो ।

















