नरेश गुप्ता

बरियारपुर,अख्तियार अनुसन्धान आयोगविरुद्ध कलैयामा विरोध प्रदर्शन भएको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले आइतबार दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका हुन ।

आयोगले प्रदेश सरकारव्दारा संचालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको साइकल वितरणमा अनियमिता भएको आशंकामा मुख्यमन्त्री लालबाबु राउतको कार्यलयमा छापामारी गरी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको थियो ।

आयोगको छापामार शैलीको बिरोध गर्दै जसपा नेपालका केन्द्रीय सदस्य एव प्रतिनिधिसभा सद्स्य रामबाबुकुमार यादव र प्रदेशसभा सदस्य पारस साहको अगुवाइमा कलैयामा विरोध प्रदर्शन भएको हो । विरोध सभामा बोल्दै प्रदेश सभा सदस्य साहले अख्तियारले मधेसलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । साइकल वितरणमा अनियमितता भएको भए कर्मचारी दोषि रहेको बताउनुभयो । प्रदेश नम्बर २ को सरकारले चलाएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान धेरै प्रभावकारी भएको र मधेसका जिल्लामा छोरीलाई उच्च शिक्षा दिलाउन साइकल वितरण अनिवार्य रहेको बताउनुभयो । उहाँले प्रदेश २ सरकारले लोकसेवामा महिलालाई ५० प्रतिशत आरक्षण राख्नु पर्नेमा पनि जोड दिनु भएको थियो । विरोध सभामा संविधानसभा सद्स्य प्रमोद गुप्ता, प्रदेशसभा सदस्य बच्चा राउत अहिरलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी जसपा नेपालले अख्तियार अनुसन्धान आयोगविरुद्ध वीरगन्जमा पनि विरोध प्रदर्शन गरेको छ ।

जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा वीरगन्जको घण्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आर्दशनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले अख्तियार मुर्दावाद, संघीयता मास्न पाइँदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा गौरव हुन् लगायतका नारा लगाएका थिए ।

कोणसभालाई मधेश प्रदेश समिति सदस्य मदनप्रसाद चौहान, समाजवादी मुस्लिमका केन्द्रीय अध्यक्ष मौलाना नुरुल होदा, प्रदेशसभा सदस्य सिँहासन साह कलवार, जसपाका केन्द्रीय सदस्यहरु टेकबहादुर शाक्य, मोहनलाल चौधरी, केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य करिमा बेगम लगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा वक्ताहरुले आयोग पुर्वाग्रही भएको आरोप लगाएका थिए । मधेसी समुदायको त्याग र बलिदानीबाट प्राप्त भएका उपलब्धीहरु सहन नसकेर संघीयता मास्न खोजेको वक्ताहरुको भनाइ थियो । भ्रष्टाचारको मुख्य स्रोत नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको बताउँदै वक्ताहरुले अख्तियारको संरचनागत परिवर्तन हुनुपर्ने आवश्यक्ता औँल्याएका थिए ।

कार्यक्रममा जसपा पर्साकी सदस्य एवम् पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । विरोध प्रदर्शनमा जसपाका केन्द्रीय सदस्यहरु, प्रदेशसभा सदस्य, जिल्ला पदाधिकारी एवम् सदस्यहरु, जसपाबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, युवा संघका केन्द्रीय एंव जिल्ला पदाधिकारी एवम् सदस्यहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी, सदस्यहरु, जसपा निकट भातृ संगठनका पदाधिकारी एवम् सदस्यहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

विरोध कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहमदले गर्नुभएको थियो । जसपाले यसअघि शनिवार साँझ पनि अख्तियारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here