वीरगन्ज,प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई फेरि पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गाविस वडा नम्बर २ हाल परिवर्तित परोहा गाउँपालिका वडा नम्बर– ७ घर भई हाल बसाइँसराइ गरी वीरगन्ज महानगरपालिका वडा नम्बर– २ छपकैया बस्ने १९ वर्षीय (तत्काल–१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो ।
उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई प्रहार गरेका थिए । घटना लगतै पक्राउ परेका मियाँ विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।
कोभिड–१९ को पहिलो लहरको प्रकोपका २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो । तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए । उनलाई बुधबार वीरगन्ज वडा नम्बर– २, ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
















