जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमवार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले सोमबार साँझ नै प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन । मन्त्रिपरिषदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

यस्तै, यसअघि नै नियुक्ति पाउनुभएका बिना विभागीय मन्त्री कांग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसैबीच मुख्यमन्त्री यादवले आगामी पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले विश्वासको मत लिने विषयमा सत्ता गठबन्धनभित्र छलफल अघि बढाउनुभएको हो । विश्वासको मतको तयारीका लागि सोमबार बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बसेको थियो ।बैठकपछि पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसअघि २ पुसमा प्रदेशसभाको सभामुख चयनका लागि निर्वाचन हुने जनाइएको छ ।प्रदेशसभामा नेकपा (एमाले)बाट निर्वाचित तत्कालीन सभामुख रामचन्द्र मण्डललाई दुईतिहाइ बहुमतले हटाइएपछि सभामुख पद हाल रिक्त रहेको छ । हाल उपसभामुख बबिता राउत इशरले सभामुखको भूमिका निर्वाह गरिरहनुभएको छ ।

Leave a Reply