खासगरी बहुदलीय शासन प्रणालीमा दलको विकल्प छैन । कम्तिमा स्थायी विकल्प पाइन्न । यदाकदा बालेन्द्र साह र हर्क साम्पाङ जस्ता स्वतन्त्र व्यक्ति पनि नेतृत्वमा पुग्छन्, त्यो बेग्लै कुरा हो तर राज्यको नीति निर्माण, शासन सञ्चालन र शक्ति पृथकीकरणको सन्तुलनका लागि राजनीतिक दलकै नेतृत्व चाहिन्छ । त्यसैले राजनीतिक दलले निर्वाचनका माध्यमबाट जनताको प्रतिनिधित्व गर्दै सरकार सञ्चालन गर्ने व्यवस्थामा दलको विकल्पको परिकल्पना गरिन्न ।
तर राजनीतिक दललाई जनताले चुन्ने कि नचुन्ने भन्ने कुराको निक्र्योल त्यस दलले अंगीकार गरेको सिद्धान्त, लक्ष्य र रणनीतिमा निर्भर गर्दछ । साथै, सो दलमा कस्ता व्यक्तिहरु सहभागी छन् भन्ने पक्षलाई पनि हेरेर मतदाताले भोट दिन्छन् । तर बहुदलीय भनिएको व्यवस्थामा भिन्न सिद्धान्त र दर्शन मात्र होइन, विपरीत धु्रवका दलहरु मिलेर निर्वाचनमा खडा भए भने त्यस अभ्यासलाई बहुदलीय व्यवस्थाको सिद्धान्तको अनुशरण भएको मान्ने कि नमान्ने ? हालै सम्पन्न स्थानीय निर्वाचनमा यही प्रश्न जबरजस्त ढंगले उठ्यो ।
पाँच दलीय सत्ताधारी गठबन्धनमा सहभागी राजनीतिक दलहरुमा खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचनमा एउटै मतचिन्ह लिएर उभिएपछि मतदातामाथि अन्याय भयो भन्ने आवाज उठ्यो । पाँच दलीय गठबन्धन मध्येकै एक नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालै राजधानीस्थित मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया गर्दै पाँच दल बहुदलीय सिद्धान्त विपरीत उभिए भन्ने टिप्पणीको प्रतिवाद गर्नुभयो । नेपालले हिजो पञ्चायती व्यवस्थाको अन्त्यका लागि कांग्रेस–कम्युनिष्ट सबै एक भयौं, के त्यो बहुदलीय व्यवस्थाको विरोध थियो र भन्ने प्रतिप्रश्न गर्नुभएको छ ।