नरेश गुप्ता
बरियारपुर,सन्तानको स्वास्थ्यको कामना गर्दै तराईका जिल्ला लगायत अन्य क्षेत्रहरूमा पनि बुधबार जितिया पर्व मनाइएको छ । मातृस्नेहको रुपमा मनाईने यो पर्वमा एकाबिहानै नजिकैको तालतलैया, नदी लगायतका जलासयमा स्नान गरी तोरीको तेल र ‘खरी’ अर्थात पिना चढाउँने परम्परा सहित जितिया पर्व श्रद्धापूर्वक मनाउने गरिन्छ ।
यो पर्वमा आमाहरूले पहिलो दिन मंगलबार स्नान गरेर मात्रै चोखो खाने कुरा खाएर पर्वको शुरूवात गरेका थिए । बुधबार भने दिनभर उपवास बसेर बिहीबार पर्वको अन्तिम दिनको पूजापछि अन्न ग्रहण गर्ने गरिन्छ । बारा, पर्सा, नवलपरासी, चितवन लगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिनसम्म जितिया पर्व मनाउने गरेका हुन ।
पर्वमा हिन्दु महिलाहरूव्दारा भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गर्ने गरिन्छ । पारम्परिक गीत, सङ्गीतकोसाथमा नाचगान सहित जितिया पर्व मनाइने गरिएको हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म मनाइदै आइएको छ । उता जितिया पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै नेपाली संस्कृति र संस्कारमा आफ्नों विशिष्ट पहिचान र विशेषता रहेको बताउनु भएको छ ।



















