कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर २० को बसतपुर सुरक्षित खानेपानीयुक्त गाउँ बनेको छ । बसतपुर गाउँमा सुरक्षित खानेपानीको योजना सञ्चालनमा आउनुको साथै घरघरमा धारा र शौचालय बनाई प्रयोगमा ल्याइएको छ ।

शनिबार प्रदेश नं २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले बसतपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभयो । प्रदेश २ मा यसअघि सिराहाको धनगढीमाई नगरपालिकाको दुरविनडाँडा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भइसकेको छ ।

युनिसेफका खानेपानी तथा सरसफाइ अधिकृत बोधनारायण श्रेष्ठका अनुसार बसतपुरका १ सय ८५ घरधुरीमा धारा जडान गर्नुका साथै चर्पी बनाएर प्रयोगमा ल्याइएको छ ।

‘बसतपुर खानेपानी आयोजनाको पानी जाँच गर्दा कोलिफर्म इकोली ० प्रतिशत र आर्सनिक ०.०३ मिलिग्राम प्रतिलिटर पाइयो’ उनले भने ‘सुरक्षित खानेपानीयुक्त समुदायका लागि आवश्यक मापदण्ड पूरा गरेकोले नै घोषणा गरेका हौं ।’

 

यसैबीच शनिबार नै खानेपानी तथा उर्जा विकास मन्त्री शर्माले बसतपुर खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । सुरक्षित खानेपानी योजना निर्माण कार्यक्रम अन्र्तगत बसतपुर धानुक दलित बस्तीमा खानेपानी आयोजना निर्माण गरिएको जनजागरण युवा क्लब बाराले जनाएको छ ।

कोषाध्यक्ष सियाराम यादवका अनुसार भूमिगत लिफ्ट पद्दती मार्फत जमिन मुनिको पानी ४० हजार लिटर क्षमताको ट्याङकीमा भरेर १ सय ८५ घरधुरीलाई वितरण गरिनेछ ।

८० लाख ८४ हजार ९ सय ७४ रुपैयाँ १७ पैसाको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको उनले बताए । जसमा युनिसेफ नेपालले ६१ लाख २० हजार ९ सय १० रुपैयाँ ४० पैसा, कलैया उपमहानगरपालिकाले ११ लाख ७९ हजार ४ सय ३८ रुपैयाँ २६ पैसा र समुदायले ७ लाख ८५ हजार ६ सय २५ रुपैयाँ ५१ पैसाको योगदान गरेका छन् ।

२०१९ जुलाईमा डिजाइन गरिएको आयोजनाको काम १० फेब्रुअरी २०२० मा शुरु भएको थियो भने अक्टुबर २०२१ सम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

बसतपुर खानेपानी योजना सञ्चालनमा आएपछि बसतपुर रामटोेलका दलित समुदाय खुशी छन् । यसअघि दलित समुदायलाई खानेपानीका लागि निकै सास्ती थियो । उर्मिला देवी रामका अनुसार खानेपानी योजना मार्फत धारा जडान भएपछि पानीका लागि अब दुःख अन्त्य भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here