अनिल तिवारी

सिमरा, ३ भदौँ– जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २३ भलुही चोकमा ३० बेडको आइसोलेशन सेन्टर निर्माण कार्य शुरु भएको छ । पछिलो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै वडामा ३० बेडको आइसोलेशन निर्माण शुरु भएको हो ।

वडा नम्बर २३ मा पछिलो पटक एकै दिन ५ जना र त्यस भन्दा पहिलो ४ जना संक्रमित भएको पाइएपछि संक्रमितको सचित ब्यवस्थापनमा समस्या आउन नदिन वडा कार्यालयले आफ्नो क्षेत्रभित्र ३० बेडको आइसोलेशन सेन्टर निर्माण गर्न लागेको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो । उहाँले निर्माणाधिन आइसोलेशन सन्टर २ दिनमा तयार हुने बताउनुभयो ।

सो वडामा रहेका ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलशनमा, दुई जना म्यागनेश फर्मामा, बाँकी ५ जना होम आइसोलेशनमा रहेको देवानले जानकारी दिनुभयो । होम आइसोलशनमा रहेकाहरुलाई सुबिधाको आधारमा दुई दिनभित्र वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभएको छ ।

सेन्टरमा दुई जना स्थानीय डाक्टर र स्वंम सेवकहरुले २४ सै घण्टा संक्रमतिलाई सुविधा दिने उहाँले जानकारी दिनुभयो ।

कलैयामा रहेको आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुको ब्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राख्दै आफ्नो वडालाई सकेसम्म स्तरीय बनाउने प्रयास गरेको वडा अध्यक्ष देवानको भनाइ छ ।

उहाँले घर नजिकै आइसोलेशन सेन्टर भएको खण्डमा पारिवारि सहयोग समेत प्राप्त हुने र आत्मबल बलियो हुने तथा रोगसंग लड्ने क्षमताको विकास हुने भएकोले आफुले तत्कालै आईसोलेशनको निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

Leave a Reply