काठमाडौं,नेकपा एमालेनिकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ ।’ विज्ञप्तिमा भनिएको छ ।बिहीवार साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत एउटा कार्यक्रममा सहभागी भइरहेको बेला प्रहरी होटलमै पुगेको हो । प्रहरीले पक्राउ गर्न खोजेपछि आफूहरूले प्रतिवाद गरेको चौतारीका उपाध्यक्ष राजेश राईले बताउनुभयो ।

‘प्रेस काउन्सिलले हेर्नुपर्ने विषयमा सिधै प्रहरीले पक्राउ गर्न मिल्दैन भनेर प्रतिकार गर्यौं ।’ उहाँले भन्नुभयो ।
बस्नेतले सञ्चालन गर्ने जनता टाइम्स नामक अनलाइनमा साउन महिनामा प्रकाशित एउटा समाचार र तस्वीरलाई लिएर उहाँमाथि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उहाँलाई पक्राउ गर्न खोजिएको बुझिएको छ ।

Leave a Reply