वीरगञ्ज,पर्सा प्रहरीले एकथान हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा पर्सा प्रहरीले एकथान नलकटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।पर्सा प्रहरीले दुबै जनालाई गएको ५ गते वीरगञ्जको दुई बेग्लाबेग्लै स्थानबाट पक्राउ गरेको थियो । प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २६ सुगौलीका सरफराज अन्सारी र साहिल अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।प्रहरीले सुरुमा बीरगन्जको छपकैयाँबाट एकथान नलकटुवा पेस्तोलसहित साहिल अन्सारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका साहिलले दिएको बयानको आधारमा थप सरफराजलाई पक्राउ गरिएको जनाइएको छ ।पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साका एसपी कोमलविक्रम शाहले बताउनुभयो । प्रहरी हिरासतमा रहेका दुबै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान म्याद थप भइ अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जनाएको छ ।


















