निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले ५ किलो गाँजासहित ५ जनालाई बिहीबार पक्राउ गरेको छ । प्रहरीले गाँजा बिक्री र खरिद गर्ने दुई समूहका ५ जनालाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो ।

गाँजाको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले निजगढस्थित पूर्वपश्चिम लोकमार्गको तामागढीबाट २ जना र कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिटकैयाबाट थप ३ जनालाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका २६ वर्षीय बुद्घिलाल पाख्रिन, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का ठाडाबहादुर मगर दर्लामी, कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिटकैयाका ३९ वर्षीय श्रीलाल महरा, सोही ठाउँका २४ वर्षीय नवल किशोर राम र प्रसौनी गाँउपालिका वडा नम्बर ७ का ३८ वर्षीय हरिन्द्र महरा चमार रहेका छन ।

रतनपुरतर्फबाट मोटरसाइकलमा गाँजा बोकेर तामागढीतर्फ आउदै गरेका दर्लामी र पाख्रिन पक्राउ परेपछि उनीहरुले दिएको सूचनाको आधारमा प्रहरीले थप ३ जनालाई पनि उत्तरझिटकैयाको श्रीपुरस्थित चिनी मिल नजिकबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो । मगरले चलाएको प्रदेश–२–०३–००४प ८४४९ नम्बरको मोटरसाइकलको पछाडि बसेका पाख्रिनले पिठ्युमा बोकेको झाला चेकजाँच गर्ने क्रममा ५ किलो गाँजा बरामद भएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार दुबैजना गाँजा बिक्री गर्न भनेर उत्तरझिटकैयातर्फ जान लागेका थिए । अन्य ३ जनालाई भने सोही गाँजा खरिद गर्न भनेर बसेको अवस्थामा प्रहरीले पिलुवा– कलैया सडकखण्डको श्रीपुरबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले गाँजा किन्न बसेका महरासहित ३ जनाबाट नगद ५ हजारसमेत बरामद भएको जनाएको छ ।

Leave a Reply