निजगढ,निजगढ नगरपालिकाले एन्फा एकेडेमीका फुटबल प्रशिक्षार्थी विकल रेग्मीको सम्झनामा विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
निजगढ नगरपालिकामा मंगलवार बसेको नगर खेलकुद विकास समितिको बैठकले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलाको पहिरोमा परी ज्यान गुमाएका प्रशिक्षार्थी निजगढ नगरपालिका– ८ का रेग्मीको सम्झनामा विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।विकलको निधनले निजगढ नगरपालिका र राष्ट्रले नै ठुलो क्षति व्यहोरेको छ । नगर खेलकुद विकास समितिले समेत उनको सम्झनामा हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको नगरप्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ४ स्थित वात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीका प्रशिक्षार्थी खेलाडी विकलको पहिरोमा परी ज्यान गएको थियो । उनी बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा हुन् ।


















