वीरगन्ज,नेपाल सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा संचालनमा रहेका होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ ।
वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले वीरगन्ज नाकालाई सहज नबनाइ दिएका कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् । कोरोनाको हाऊगुजी देखाएर सरकारले अझै पनि वीरगन्ज नाका पूर्ण रुपमा नखोलेका कारण वीरगन्ज नाका भएर आउने भारतीय पर्यटकहरुको आवागमन ठप्प भएपछि आफूहरु पेशाबाट नै पलायन हुनुपर्ने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरी पन्तले बताउनुभयो । उहाँले वीरगन्ज सीमा नाकाबाट दैनिक सयौं व्यक्तिहरुको ओहोरदोहोर भएपनि सरकारले औपचारिक रुपबाट नाका संचालनमा नल्याईदिँदा यहाँको होटल तथा पर्यटन व्यवसाय नराम्रोसंग मारमा परेको बताउनुभयो । सरकारले कोरोन संक्रमण बढेको भन्दै २०७६ साल चैत ११ गतेदेखि वीरगन्ज नाका बन्द गरेको थियो । त्यो समयदेखि बन्द रहेको नाका अहिलेसम्म पनि पूर्ण रुपमा खुल्न नसक्दा होटल तथा पर्यटन क्षेत्र अस्तब्यस्त बनेको यहाँका व्यवसायीहरुको भनाइ छ ।
झण्डै २० अर्बको लगानी वीरगन्जको होटल क्षेत्रमा पहिलो र दोश्रो लहरको कोरोना र लकडाउनका कारण आफूहरुले एक अर्ब जति क्षति ब्यहोर्न परेको बताउदै पर्यटन ब्यवसायी संघ पर्साका उपाध्यक्ष रचेन्द्र थापाले एक दर्जन होटलहरु यो अवधिमा बन्द पनि भइसकेको जानकारी दिनुभयो । सीमा नाका लामो समयसम्म बन्द हुँदा आफूहरुले झेल्न परेको समस्याको बिषयमा चाँडै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराउने योजनामा आफूहरु रहेको युवा होटल व्यवसायी दीलिपराज कार्कीले बताउनुभयो ।