सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित कुलोमा उद्योगबाट निस्किएको प्रदूषित पानीमा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएको छ ।घटनापछि आक्रोशित मृतकका आफन्त र स्थानीयले आज जीतपुरसिमरा ३ स्थित गणपति र नन्दन उद्योगको गेट अगाडि बालकको शव तेर्साएर प्रदर्शन गरेका छन । जीतपुरसिमरा ५ को सिरसिया कुलो (बर्खी बाँध) मा डुबेर शुक्रवार बालकको मृत्यु भएको थियो ।

उक्त कुलोमा गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टीललगायतका उद्योगले प्रशोधन नगरी रसायनयुक्त प्रदूषित पानी बाउने गरेका छन । शव परीक्षणका क्रममा बालकको मृत्यु विषाक्त पानीकै कारण भएको पुष्टि भएको नारायणी उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले उद्योगको लापरबाहीले बालकको ज्यान गएको भन्दै क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन । इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले उद्योगको गेटअगाडि पीडित परिवार र स्थानीय प्रदर्शनमा बसेको र पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाले शनीवार नै उद्योगले प्रदूषित पानी छोड्ने स्थानमा डोजर लगाएर ह्युमपाइप हटाउँदै खाल्डो पुरेको छ । यसअघि पनि नगरपालिकाले उद्योगको पर्खाल भत्काएर ह्युमपाइप हटाएको थियो । तर उद्योगले पुनः ह्युमपाइप जडान गरी प्रशोधन नगरी प्रदूषित पानी छोड्ने गरेको स्थानीयले गुनासो गर्दैआएका छन् ।

Leave a Reply