दुष्यन्त चौधरी

कलैया, १ मंसिर । बाराको करैयामाई गाउँपालिका–८, बेलाहीमा आयोजित ‘प्रथम वडा गोल्डकप–२०८२’ आगामी मंसिर ४ गतेदेखि सुरु हुने भएको छ । स्थानीय युवाहरूको प्रतिभा विकास, अनुशासन, नेतृत्व क्षमता तथा खेलकुदप्रतिको सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यका साथ गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । बेलाही खेलकुद मैदानमा आयोजना हुने सो प्रतियोगितामा यस वर्ष जम्मा ८ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

ती क्लबहरूमा बारा युनाइटेड फतेपुर, एसजेएवाइसी सीहसनी, समृद्ध नेपाल क्लब जुअवा, फ्रेन्डस युवा क्लब भगवानिपुर, बारा–११, युनिक स्टार युवा क्लब मधुवन, आयोजक टिम करैयामाई–८ तथा नितान्ता अफ नितनपुर रहेका छन् । प्रतिस्पर्धात्मक खेलमार्फत स्थानीयस्तरमै उत्कृष्ट खेलाडी छनोट, क्लबहरूको आपसी समन्वय तथा खेलक्षेत्रमा नयाँ अनुहारहरू अघि ल्याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

प्रतियोगिता उद्घाटनका क्रममा स्थानीय प्रतिनिधिहरू, खेलकुद प्रेमी, समाजसेवी, समुदायका अगुवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको महत्वपूर्ण उपस्थिति रहनेछ । उद्घाटन समारोहलाई भव्य बनाउन रंगीन परिचालन, दर्शक व्यवस्थापन, सुरक्षा तथा मैदानको तयारीसहित सम्पूर्ण व्यवस्थापन सजग रूपमा पूरा गरिएको आयोजकले जनाएको छ । यस वर्षको गोल्डकपमा गाउँपालिका कर्मचारी र स्थानीय समिति/समाजसेवीबीच मैत्रीपूर्ण खेल पनि हुनेछ, जसले कार्यक्रमलाई थप रोचक बनाउने बताइएको छ ।

आठ टिमबीच समूहगत प्रतिस्पर्धा हुँदै फाइनल खेल २०८२ मंसिर ११ गतेका लागि निर्धारण गरिएको छ । फाइनल खेल आकर्षक समारोहसहित सम्पन्न गरिने तथा त्यसका लागि विशेष प्रस्तुति, सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको तयारी भइरहेको छ । पुरस्कार राशिमा पनि आकर्षक रकम राखिएको छ । विजेता टिमले जनही ४० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछ । खेलकुदमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले पुरस्कारमा ट्रफी, प्रमाणपत्र तथा अन्य प्रेरणादायी सामग्री समावेश गरिएको आयोजकले बताएको छ ।

बेलाही क्षेत्रमा पहिलो पटक यस स्तरको गोल्डकप आयोजना हुन लागेकोले स्थानीयवासीमा उत्साह उल्लेखनीय देखिएको छ । खेल पर्यटनलाई प्रवर्द्धन, स्थानीय बजारमा चहलपहल बढाउने तथा समाजमा आपसी सद्भाव र एकताको सन्देश फैलाउने विश्वास समेत आयोजक समिति र स्थानीयवासीहरूले व्यक्त गरेका छन् । खेलप्रेमीहरूलाई दैनिक खेल हेर्न मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न आयोजकले आग्रह गर्दै खेलकुदलाई गाउँको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

आयोजकका अनुसार प्रतियोगिता शान्त, अनुशासित तथा उत्साहजनक ढंगले सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

Leave a Reply