आगामी मंसिर ४ गते नजिकिदै गर्दा चुनावी रौनक पनि बढ्दै गएको छ । सबै दलहरुले आफ्ना प्रदेश र संघीय सदनका लागि उम्मेदवारहरु छनौट गरेर भटाभट सिफारिस गरिरहेको कुरा प्रकाशमा आएको छ । सजिलो भएर पनि होला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने उम्मेदवार सिफारिस फटाफट गरेको देखिएको छ । बारा जिल्लाको चारवटै संघीय क्षेत्रका लागि एमाले बाराले सिफारिस गरेको छ तर सिफारिस गरेका मध्ये कसले टिकट पाउँछन् त्यो त स्पष्ट छैन । तर, एमालेले उम्मेदवारको नाम भने सहजै सिफारिस भने गरेको छ ।

अझ एमालेले त क्षेत्र नम्बर २ र ४ बाट संघीय सांसदको प्रतक्ष्यतर्फको सदस्य पदमा निर्विरोध रुपमा उम्मेदवार छनौट गरेर सिफासिर गरेको छ । एमालेले बारा क्षेत्र नम्बर २ बाट बलवीर चौधरी र क्षेत्र नम्बर ४ बाट देवनारायण चौधरीको एकल नाम सिफारिस गरेर पठाएको हो । यसबाट उम्मेदवार छनौटमा एमालेभित्र खासै विवाद छैन भन्ने देखाएको छ । वास्तवमा कुनै पनि पार्टीले चुनाव जित्नको लागि पहिलो सर्त भनेकै उम्मेदवार सर्वसम्मत र सबैले पचाउने खालको हुन जरुरी छ । आफ्नै पार्टीका कार्यकर्ता पङ्गतिभित्र नरुचाइएको वा विवादकाबीच छनौट भएको उम्मेदवारलाई अघि सारेर कुनै दलले पनि चुनावी लडाइ जित्न सक्दैनन ।

पर्सामा पनि पत्रकार सहितका उम्मेदवाहरु सिफारिस गरेको देखिएको छ । यहाँ मुल कुरा के हो भने यो संघीय र प्रदेश सभाको चुनाव हो । मंसिर ४ मा चुनाव जितेकाहरुले सिधै प्रदेश सभा र संघीय सभामा प्रवेश पाउनेछन् त्यसैले पनि उनीहरुको भूमिका सरकार निर्माणमा पनि हुनेछ । त्यसैले असल सरकार निर्माणको लागि दलहरुले त्यस्तै असल र जनमुखी उम्मेदवार छनौट गर्न जरुरी हुन्छ । यदि उम्मेदवार खराब परेर उनीहरु नै विजयी बनेको खण्डमा जनताले फेरि ५ वर्षसम्म पछुताउनुको विकल्प हुदैन ।

यो अर्थमा पनि यी दुबै सदनको चुनावसंगै यसको उम्मेदवारहरु पनि महत्वपूर्ण छ । जसले जित्छ उसैको वरपर सरकार पाँच बर्ष संचालनमा रहने भएकाले पनि आम मतदाताहरुले ख्याल गर्नुपर्ने कुरा धेरै छन् भने दलहरुले पनि जवरजस्ती नेता मतदाताका माझमा थुपार्दा बालेन र हर्कहरु जन्मिएका छन् । यसतर्फ उनीहरुले बेलैमा ख्याल गरेर जनताले रुचाएको व्यक्ति उम्मेदवार बनाउदा सबै दलको कल्याण हुनेछ ।

Leave a Reply