निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ स्थित गणेशमान सिंह पार्क मोहरीमा तोडफोड भएको छ । गणेशमान सिंहको सालिक वरिपरि रहेको स्टील रेलिङ, मार्बल, सिमेन्टको कुर्सी तोडफोड भएको हो । गणेशमान श्रेष्ठको पूराकदको सालिकमा भने कुनै क्षति भएको छैन ।

अज्ञात व्यक्तिहरुले बुधवार राति पार्कमा रहेको गणेशमान सिंहको सालिक बरिपरिको स्टीलको रेलिङ र सिमेन्टको कुर्सी भाच्नुको साथै सालिक मुन्तिर बिछ्याइएको मार्बलसमेत फुटाएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पार्कमा घुम्न गएका स्थानीयले तोडफोड भएको देखेपछि बिहीवार बिहान प्रहरीलाई जानकारी गराएको र ईलाका प्रहरी कार्यालय निजगढको टोली पुगेर घटनास्थलको निरीक्षण गरेर फर्किएको प्रहरी सहायक निरीक्षक पेसलकुमार बानियाले जानकारी दिनुभयो । उहाँले तोडफोडमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाहीको स्थानीयले इलाका प्रहरी कार्यलय निजगढमा निवेदन दिएको पनि बताउनुभयो ।

निजगढ नगरपालिका कार्यालयको सहयोगमा निर्माण भएको सो पार्क निजगढको प्रमुख पर्यटकीय गन्त्यको रुपमा रहेको छ । मोहोरी पार्कमा गणेशमानको सालिकसहित पूर्वाधार निर्माणको कार्य हुदै आएको छ ।

Leave a Reply