नरेश गुप्ता

बरियारपुर,जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेको मध्ये पाँचजनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नम्बर– ३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका वडा नम्बर– ५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका वडा नम्बर– ९ रामपुर टोल बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालिका वडा नम्बर– ९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर– ५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाह रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ईलाका प्रहरी कार्यालय निजगढको सहयोगमा निजगढस्थित तारा इन होटलबाट उनीहरुलाई शनिबार दिउसो नियन्त्रणमा लिएको थियो । नेपाली नक्कली नोटको कारोबारीहरु होटेलमा कोठा लिएर बस्दै आएको भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौंबाट आएको सिबिआइको टोली स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली रूपैयाँ १ हजार दरका २५ थान नोट, बा ९१ प ७४३५ नम्बरको मोटरसाईकल र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडीसमेत बरामद गरेको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय रौतहट, बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी सुनिल रामको घरमा तत्काल खानतलासी गर्दा नेपाली रूपैयाँ १ हजार दरको नोट आकारको प्रतिगड्डी १०० थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रूपैयाँ १ हजार दरको नोट ३९ थान र बिआर ०५त ४६१० नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल र प्रदेश २–०३–००१प ४२६५ नं.को २२० सिसिको पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थपेको छ भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘जग्गाको कारोबारी भन्थ्ये, धन्दा अर्कै रहेछ’

निजगढ,

तारा इनबाट पक्राउ गरेकामध्ये सुनिलकुमार रामले आफुलाई घर जग्गाको कारोबारी भएको बताएर होटलमा बस्दै आएको पाइएको छ । ‘घरजग्गाको कारोबारी हुँ भन्थ्यो, होटल मालिक युवराज लामाले भन्नुभयो, भित्र अर्कौ धन्दा रहेछ । ‘भेट भएपछि जतिखेर पनि जग्गा खरिद बिक्रीको कुरा मात्रै गथ्र्र्यो ।’ लामाले भन्नुभयो । उनी डेढ वर्षअघिदेखि नै होटलमा आउजाउ गर्ने गरेको पनि लामाले जानकारी दिनुभयो ।

पछिल्लो १०÷१२ दिनदेखि एउटा कोठा लिएर नियमित रुपमा बस्दै आएका रामले एक साताअघिबाट भने थप ३ वटा कोठा बुक गरेर २ महिलासहित थप ३ जनालाई ल्याएका थिए । ‘एउटा कोठा लिएर बस्दै आएका थिए, लामाले भन्नुभयो, ५÷६ दिनदेखि भने ३ वटा कोठा लिएर ४ जना बस्न थाले ।’ पछि थपिएकामध्ये एकजनाले घर चितवन र आफु पत्रकार भएको पनि बताएको लामाले बताउनुभयो । ‘पत्रकार भन्थ्ये, लामाले भन्नुभयो, तर मैले खासै वास्ता गरेको थिइन ।’

शुरुका दिनमा मोटरसाइकलमा आउने गरेका रामले २ महिनायता भने स्करपियो प्रयोग गर्न थालेको होटल संचालक लामाले सुनाउनुभयो ।

उनीहरु दिउसो भने प्राय होटलमा नबस्ने गरेको पनि पाइएको छ । ‘पक्राउ परेको दिनमात्रै हो, नत्र दिउसो प्राय होटलमा बस्दैनथ्ये, लामाले भन्नुभयो, बिहान सबेरै निस्किएपछि रातिको खाना अन्तै खाएर अबेलामात्रै आउथे ।’

 

Leave a Reply