नरेश गुप्ता

बरियारपुर, ५ भदौँ– कोरोना भाइरस महामारी नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको बेला दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्न परिवारमा वितरण गर्न भनेर कलैया उपमहानगरपालिकाले खरिद गरेको र स्थानीय प्रशासनले ३ महिनाअघि बरामद गरेको ८ सय ३० बोरा कुहिएको अखाद्य दाल र बिहिबार नष्ट गरिएको छ ।

उपमहानगरपालिकाका नगरप्रमुख राजेश यादवको स्वामित्वमा रहेको यादव कोल्ड स्टोर कलैयाबाट नियन्त्रणमा लिइएको उक्त दाल कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनस्थित पसाहा खोला किनारमा जलाएर नष्ट पारिएको हो ।
नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा कलैया उपमहानगरपालिका ८ स्थित यादव कोल्ड स्टोरबाट बरामद भएको सो दाल बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंण्डित र प्रहरी उपरीक्षक कृष्ण पंगेनीको उपस्थिति र स्थानीय संचारकर्मीहरुको रोहबरमा जलाएर नष्ट पारिएको हो । जलाएको दाल पुन खोल्टोमा पुरेर छोडिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कोल्ड स्टोरका संचालक एंव कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव तथा नगरपालिकाका केही वडा अध्यक्षहरुले गरिब तथा बिपन्न परिवारमा राहत स्वरुप कुहिएको दाल वितरण गरेपछि जिल्ला प्रशासन कार्यालयले स्टोरमा छापामारी बाँकी अखाद्य दाल नियन्त्रणमा लिएको थियो । कुहिएको दाल वितरण गर्ने नगरप्रमुख यादवलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो । नगरप्रमुख यादवले राहतमा कुहिएको दाल तितरण गरेपछि पिडितहरुले चर्को विरोध गरेका थिए । कुहिएको दाल वितरण गरिएको गुनासोपछि स्थानीय प्रहरी प्रशासनले गत वैशाख १२ स्टोरमा सिल गरेर राखेको थियो ।

त्यसैगरी अस्थायी बेस क्याम्प बरियारपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिउको २५ लिटर घरेलु मदिरा पनि नष्ट गरिएको छ । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा तरकारी लोड गरेको कैरेटभित्र लुकाएर लैजादै गरेको अवस्थामा पसहा चेक प्वाईन्टबाट उक्त घरेलु मदिरा बरामद गरेको थियो । बरामद मदिरा वडा अध्यक्ष विरेन्द्र राउत बरै र संचारकर्मीको रोहबरमा महागढीमाई नगरपालिका २ स्थित भुतही खोला नजिक खाल्डो खनेर पोखिएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here