वीरगञ्ज,पर्सा जिल्लामा गत शनिबारदेखि झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू फेरि बढ्न थालेका छन् ।
आइतबार जिल्लाका विभिन्न अस्पतालमा झाडापखालाका २७ बिरामीले उपचार गराएका थिए भने सोमवार यो सङ्ख्या २८ पुगेको छ । गत तीन दिनयता करिब एक सय जनाभन्दा बढी झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू अस्पतालमा भर्ना भएका छन् ।

शनिबारयता झाडापखाला तथा शङ्कास्पद हैजाका ८८ वटा नयाँ केस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार २७, आइतबार ३३ र सोमबार २८ वटा झाडापखाला तथा शङ्कास्पद हैजाका केस फेला परेका हुन् ।अहिले फेरि दिनहुँ झाडापखालाका नयाँ केसहरू आउन थालेका छन् । सरकारी तथ्यांकअनुसार सोमवारसम्म जिल्लाभर कुल १५१२ केस दर्ता भएका छन् । जसमध्ये १४७९ जना उपचारपछि निको भएर घर फर्किसकेका जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । ३३ जना बिरामीहरू अझै विभिन्न अस्पतालमा उपचाररत रहेका कार्यालयले जनाएको छ ।

यसैगरी झाडापखाला तथा हैजा फेला परेको एक महिनाको अवधिमा जिल्लाभर २४० जनामा हैजा पुष्टि भएको छ, जसबाट २३६ जना निको भएर घर फर्किसकेका छन् । हैजा पुष्टि भएका ४ जना बिरामी मात्रै अहिलेसम्म अस्पतालमा उपचाररत छन् ।जिल्लामा हैजाको ‘हटस्पट’ क्षेत्र वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–१५ मा भदौ ६ गते पहिलोपटक हैजाका बिरामीहरू फेला परेका थिए । सरकारी निकायले हैजा नियन्त्रणका लागि उक्त क्षेत्रमा विशेष रणनीतिहरू बनाएर उपचारात्मक र निरोधात्मक विधि अपनाएर काम सुरु गरेपछिमहानगरपालिकासहित जिल्लामा हैजाका बिरामीहरूको सङ्ख्या घट्दै गएको र धेरै बिरामीहरु निको भएर घर पनि फर्किसकेका थिए ।

तर जेनजी आन्दोलन र त्यसपछिका दिनहरुमा स्वास्थ्यकर्मी र सरकारी निकायका प्रतिनिधिहरूले काम गर्ने वातावरण बिग्रिएपछि झाडापखालाका बिरामीहरू निको हुनुको सट्टा पुनः सङ्क्रमित भएर अस्पताल भर्ना हुन थालेको जनस्वास्थ्य कार्यालयको विश्लेषण छ ।जिल्ला जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार खानेपानीमा औषधिको प्रयोग नगर्नाले फेरि हैजाका शङ्कास्पद बिरामीहरू फेला पर्न थालेका हुन् ।जिल्लामा पानीको हाहाकार हुँदा गाडिएका डिप बोरिङको पानी पिउनाले हैजा फैलिएको आशङ्का गरिएको छ । तथापि, सरकारी निकायले कहाँबाट हैजा फैलियो भन्ने परीक्षण रिपोर्ट अहिलेसम्म सार्वजनिक गर्न सकेका छैनन् ।

Leave a Reply